AgriVet Sanchar

नदीको बगरमा खरबुजा खेती गर्दै बर्दियाका महिलाहरू: आम्दानीको नयाँ सम्भावना खोज्दै

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित सानोबिक्री गाउँका महिलाहरूले बगर खेतीमार्फत आत्मनिर्भर बन्ने प्रयास सुरु गरेका छन्। भादा नदीको किनारमा रहेको बगर क्षेत्र प्रयोग गर्दै उनीहरूले खरबुजा र फर्सीको व्यावसायिक खेती थालेका हुन्।

गाउँका करिब एक दर्जन महिलाहरूको सामूहिक पहलमा सुरु गरिएको यस खेतीले परम्परागत तरकारी उत्पादनबाट अघि बढ्दै नयाँ सम्भावनाको खोजी गरेको देखिन्छ। यसअघि घर नजिकैको बारीमा तरकारी खेती गर्दै आएका उनीहरूले यस वर्ष पहिलो पटक बगरमा खरबुजा रोपेर उत्पादनको दायरा विस्तार गरेका छन्।

स्थानीय कृषक रूपा थारूका अनुसार नयाँ बाली भएकाले उत्पादन कस्तो हुने भन्ने उत्सुकता र चुनौती दुवै छन्। “पहिलेदेखि तरकारी खेती गर्दै आएको भए पनि खरबुजा पहिलो पटक लगाएकी हुँ, त्यसैले उत्पादन कस्तो हुन्छ भन्ने चासो छ,” उनले भनिन्।

त्यस्तै, करुणा चौधरीले खाली समयको सदुपयोग गर्दै आम्दानी बढाउने उद्देश्यले सामूहिक रूपमा खेती सुरु गरिएको बताइन्। उनका अनुसार बिरुवामा फल लाग्न थाले पनि कीराको समस्या देखिएको छ, जसले उत्पादनमा असर पार्न सक्ने चिन्ता उनीहरूमा छ।

स्थानीय मिनाकुमारी चौधरीका अनुसार बगर खेती विशेषगरी कम जमिन भएका किसानका लागि उपयोगी विकल्प बन्न सक्छ। नदी किनारको खाली जमिन वर्षायामबाहेक प्रयोग गर्न सकिने भएकाले यसले अतिरिक्त आम्दानीको अवसर सिर्जना गर्छ। यद्यपि सिँचाइ व्यवस्थापन भने मुख्य चुनौतीको रूपमा रहेको उनी बताउँछिन्।

बर्दियामा पछिल्लो समय खरबुजा खेतीप्रति आकर्षण बढ्दै गएको छ। व्यावसायिक उत्पादन सुरु भएसँगै भारतबाट हुने आयात घट्दै गएको बताइन्छ। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार जिल्लामा करिब ५० बिघा क्षेत्रफलमा बगर खेती भइरहेको छ, जहाँ खरबुजा, फर्सी र लौकाजस्ता बाली उत्पादन भइरहेका छन्।

कार्यालयका कृषि प्राविधिक अधिकृत फिर्तमान चौधरीका अनुसार उचित व्यवस्थापन र प्रविधिको प्रयोग गर्न सके बगर खेती आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ। उनले किसानलाई तालिम, प्रविधि र आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि महिलाको सक्रियतामा सुरु भएको यस प्रयासको प्रशंसा गरेका छन्। वडा सदस्य भावना चौधरीले बगरको उपयोगसँगै महिलाको आर्थिक सशक्तीकरणमा यसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। साथै, यस्तो पहल अन्य स्थानका महिलाहरूका लागि प्रेरणादायी बन्न सक्ने उनको भनाइ छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.