जुम्लामा कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण सुरु गरिएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि गर्ने, श्रम अभाव कम गर्ने तथा बाँझिँदै गएका खेतबारी पुनः खेतीयोग्य बनाउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत यो अभियान अघि बढाइएको हो ।
कार्यक्रम कार्यान्वयन इकाइ जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार चालु आर्थिक वर्षमा ४६ वटा कृषि समूह, सहकारी, कृषि फर्म तथा उद्यमी छनोटमा परेका छन् । तीमध्ये ४३ जनासँग सम्झौता सम्पन्न भइसकेको छ भने हालसम्म १८ जना कृषकले हाते ट्याक्टर प्राप्त गरिसकेका छन् ।
कार्यक्रमअन्तर्गत पाँच हर्सपावर पेट्रोल इन्जिन, सात हर्सपावर पेट्रोल इन्जिन तथा सात हर्सपावर डिजेल इन्जिनयुक्त मिनिटिलर वितरण गरिने जनाइएको छ । जुम्लाका आठवटै स्थानीय तहसँगै कालिकोटको रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा समेत यो कार्यक्रम विस्तार गरिएको छ । यसका लागि १२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
हिमाली भूगोल, श्रमिक अभाव र परम्परागत खेती प्रणालीका कारण जुम्लामा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । खेत जोत्न गोरु पाल्नुपर्ने, मल व्यवस्थापन कठिन हुने तथा युवा विदेश पलायनका कारण कृषिमा जनशक्ति अभाव बढेको अवस्थामा कृषि यान्त्रीकरणलाई समाधानको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।
सूचना अधिकारी पदमराज कार्कीका अनुसार हिमाली जिल्लामा आधुनिक कृषि उपकरणको प्रयोग अझै न्यून रहेको छ । कृषि विकास कार्यालय जुम्लाका तथ्यांकअनुसार जिल्लाको ३८ हजार ४ सय ८६ हेक्टर खेतीयोग्य जमिनमध्ये १२ हजार ५१ हेक्टर जमिन हाल बाँझो अवस्थामा रहेको छ ।
कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढ्दै गए उत्पादन वृद्धि हुनुका साथै श्रम व्यवस्थापन सहज हुने र कृषिलाई व्यावसायिक तथा आकर्षक पेशाका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।