वीरगन्ज । करिब तीन दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जले पुनः जीवन पाएको छ। राष्ट्रिय आविष्कार केन्द्रको पहलमा कारखानाबाट उत्पादित कृषि यन्त्रहरू अहिले किसानसम्म पुग्न थालेका छन्। २९ वर्षपछि सुरु भएको उत्पादनले कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।
सरकारले २०७९ माघदेखि कारखाना सञ्चालनको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि वैज्ञानिक र प्राविधिक टोलीले उपकरण मर्मत तथा उत्पादन तयारीमा जुटेको थियो। करिब २८ महिनाको निरन्तर प्रयासपछि कारखानाले व्यावसायिक रूपमा कृषि यन्त्र उत्पादन र बिक्री वितरण सुरु गरेको हो।
हाल धान रोपाइँको मौसम भएकाले हातले सञ्चालन गर्न सकिने धान रोप्ने मेसिनको माग उल्लेख्य देखिएको छ। राष्ट्रिय आविष्कार केन्द्र, वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवका अनुसार उत्पादित हाते धान रोप्ने मेसिन चितवनका किसानलाई बिक्री भइसकेको छ। एउटा मेसिनको मूल्य २१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
कारखानाले धान रोप्ने मेसिनसँगै प्याडी विडर केज ह्विल, राइस प्लान्टर, कोदो रोप्ने मिलेट प्लान्टर तथा माछापालनका लागि आवश्यक फिस इन्क्युवेटर र अक्सिजन टावरजस्ता उपकरण पनि उत्पादन गरिरहेको छ। किसानमाझ विशेषगरी प्याडी विडर र राइस प्लान्टरप्रति आकर्षण बढ्दो रहेको बताइएको छ।
इन्जिनियर देवका अनुसार प्याडी विडर केज ह्विलको मूल्य २ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म छ भने राइस प्लान्टरको मूल्य १५ देखि २० हजार रुपैयाँको हाराहारीमा राखिएको छ। माछापालनका लागि प्रयोग हुने फिस इन्क्युवेटर र अक्सिजन टावरको सेट एक लाख रुपैयाँमा बिक्री भइरहेको छ।
कारखानाबाट उत्पादित उपकरणमध्ये केही हालसम्म नेपालमै पहिलोपटक निर्माण भएका कृषि यन्त्र रहेको केन्द्रको दाबी छ। विदेशी उपकरणको तुलनामा नेपाली उत्पादन बलियो, किफायती र स्थानीय आवश्यकता अनुसार उपयोगी रहेको केन्द्रले जनाएको छ।
हाल धानबाली केन्द्रित उपकरण उत्पादनलाई प्राथमिकता दिइएको भए पनि आगामी दिनमा अन्य कृषि यन्त्रहरूको उत्पादन विस्तार गर्ने योजना रहेको छ। उत्पादन क्षमता बढाउन केन्द्रले हालै १८ लाख रुपैयाँ लागतमा अत्याधुनिक लेजर वेल्डिङ मेसिन पनि जडान गरेको छ। उक्त उपकरणले धातु काट्ने, वेल्डिङ गर्ने तथा खिया सफा गर्ने काम एकैसाथ गर्न सक्ने बताइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले कारखाना सञ्चालनका प्रारम्भिक खर्चहरू आफ्नो आत्मकथा बिक्रीबाट संकलित रकममार्फत व्यवस्थापन गरिएको जानकारी दिएका छन्।
हालसम्म कारखानाले धान काट्ने रिपर, आलु रोप्ने तथा खन्ने उपकरण, गोबर प्रशोधन मेसिन, मल्चर, घाँस काट्ने यन्त्रलगायत विभिन्न कृषि उपकरणको सफल परीक्षण र उत्पादन गरिसकेको छ। साथै कुटो, कोदालो, खुर्पी तथा चाप कटरजस्ता परम्परागत कृषि औजारहरू पनि निर्माण भइरहेको छ।
वि.सं. २०२४ सालमा तत्कालीन सोभियत संघको सहयोगमा स्थापना भएको यो कारखाना एक समय देशकै महत्वपूर्ण औद्योगिक केन्द्रका रूपमा परिचित थियो। तर २०५३ सालमा निजीकरणको निर्णयसँगै यसको उत्पादन बन्द भएको थियो। अहिले पुनः सञ्चालनमा आएपछि स्वदेशमै कृषि यन्त्र उत्पादन र प्रविधि विकासको नयाँ आशा जागेको छ।