AgriVet Sanchar

पाल्पा–अर्घाखाँचीमा बाघको उपस्थिति बढ्यो : संरक्षणको आशा ,द्वन्द्वको चिन्ता

लुम्बिनी, चैत ३ — पाल्पा र अर्घाखाँची जिल्लामा क्यामरा ट्रयापमार्फत तीन वटा वयस्क बाघ अभिलेख भएपछि वन्यजन्तु संरक्षण क्षेत्रमा नयाँ संकेत देखिएको छ। गैरसंरक्षित क्षेत्रमा समेत बाघ देखिनु पारिस्थितिक प्रणालीको दृष्टिले सकारात्मक मानिए पनि मानव–बाघ द्वन्द्वको जोखिम बढ्ने चिन्ता समेत व्यक्त गरिएको छ।

त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागले लुम्बिनी प्रदेशमा वन्यजन्तुको अवस्था अध्ययन गर्ने क्रममा राखिएका क्यामरा ट्रयापमा बाघ देखिएका हुन्। अध्ययनका क्रममा पाल्पा र अर्घाखाँचीका विभिन्न स्थानमा बाघको उपस्थिति पुष्टि भएको हो।

पाल्पाको माथागढी गाउँपालिकास्थित माथागढी किल्ला आसपास करिब १,११० मिटर उचाइँमा बाघ भेटिएको छ। यसैगरी तिनाउ गाउँपालिकाको झुम्सा खोला माथिको क्षेत्रमा पनि अर्को बाघ क्यामरामा कैद भएको छ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका, रजिया नजिक करिब ९३४ मिटर उचाइँमा पनि बाघ देखिएको छ। यहाँको बाघ मानव आवतजावत हुने बाटो नजिकै देखिएकाले स्थानीयमा त्रास बढेको छ।अध्ययनका लागि पाल्पामा ४४ र अर्घाखाँचीमा ५० वटा गरी कुल ९४ क्यामरा जडान गरिएको थियो। करिब ८ सय वर्ग किलोमिटर क्षेत्रलाई समेटेर गरिएको अध्ययनमा वन्यजन्तुको सम्भावित आवागमन मार्ग, नदीकिनार, भञ्ज्याङ र पानीका स्रोत आसपास क्यामरा राखिएको थियो।

दुवै जिल्लामा करिब २१ दिनसम्म गरिएको अनुगमनका क्रममा तीन वटा बाघ फेला परेका हुन्। केही स्थानमा एउटै बाघ दुई पटक देखिएको अनुमान पनि गरिएको छ।अध्ययनमा बाघसँगै चितुवाको उपस्थिति पनि उल्लेख्य देखिएको छ। पाल्पामा १८/१९ र अर्घाखाँचीमा १९/२० वटा चितुवा क्यामरामा कैद भएका छन्। यसले चुरे क्षेत्र र आसपासका वन क्षेत्रमा जैविक विविधता उच्च रहेको संकेत गर्छ।विज्ञहरूका अनुसार गैरसंरक्षित क्षेत्रमा बाघ देखिनु संरक्षणका लागि सकारात्मक संकेत हो। यसले वन व्यवस्थापन, पर्यापर्यटन र संरक्षण नीतिमा सुधार गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

तर, बस्ती नजिकै बाघ देखिन थालेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम पनि उत्तिकै छ। यसका लागि समयमै सचेतना, व्यवस्थापन योजना र सुरक्षा उपाय अपनाउन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। यसअघि सन् २०१८ मा रुपन्देही, कपिलवस्तु र पाल्पाको सीमाक्षेत्रमा पहिलो पटक बाघ देखिएको थियो। पछिल्ला अध्ययनहरूले चुरे क्षेत्र हुँदै बाघको विस्तार भइरहेको संकेत गरेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.