AgriVet Sanchar

लगनखेलमा कुकुरमाथिको क्रूरता : सन्तानझैँ हुर्काइएको कुकुरको निर्मम हत्या

लगनखेलका गल्लीहरूमा दिनहुँ देखिने एउटा दृश्य थियो—मनोज शाक्य हातमा खाना बोकेर सामुदायिक कुकुरहरूतिर अघि बढ्दै। मंगलबजारदेखि इन्द्रचोकसम्मका सडकहरू उनका लागि केवल बाटो मात्र थिएनन्, ती कुकुरहरूसँगको सम्बन्धका साक्षी थिए। करिब ६० भन्दा बढी कुकुरलाई उनी नियमित खाना खुवाउँथे, बिरामी परे औषधि उपचारसमेत गर्थे। धेरैका लागि ती कुकुर ‘सडकका जनावर’ हुनसक्छन्, तर मनोजका लागि ती परिवारकै सदस्य जस्ता थिए।

तीमध्ये एउटा कुकुरसँग उनको सम्बन्ध अझ गहिरो थियो। जन्मिएदेखि नै उनले स्याहार-सुसार गर्दै हुर्काएको त्यो कुकुर उनीसँग निकै नजिक थियो। तर एक दिन, सबै कुरा एकाएक बदलियो।
उही कुकुरलाई एक व्यक्तिले निर्ममतापूर्वक घाँटी समातेर भुइँमा पछार्दै ज्यान लियो।
आफ्नै आँखाअगाडि सन्तानसरह हुर्काएको जीवलाई यस्तो अवस्थामा देख्दा मनोज स्तब्ध भए। पीडा र आक्रोशसँगै उनले तत्काल प्रहरीमा उजुरी दिए।

घटनापछि सुरु भएको अनुसन्धानले भने अर्को पाटो उजागर गर्‍यो। आरोपित व्यक्तिको मानसिक अवस्था सामान्य नरहेको देखियो। कहिले सामान्य जस्तो देखिने, तर कहिले एक्लै बर्बराउने र अस्वाभाविक व्यवहार गर्ने प्रवृत्तिका कारण उनी मानसिक रूपमा असन्तुलित हुनसक्ने संकेत भेटिए।

त्यसपछि स्थानीयवासी र पशु अधिकारकर्मीहरू सक्रिय भए। कानुनी कारबाहीभन्दा पनि उपचार आवश्यक ठहर गर्दै, उनीहरूकै पहलमा उक्त व्यक्तिलाई मानव सेवा आश्रममा राखियो। यस क्रममा ‘एसपीसीए’सँग आबद्ध बिना पन्त र इरफान खानले समन्वय र सहयोग गरेका थिए।

घटनाबारे सोध्दा आरोपितले ‘रमाइलोका लागि’ कुकुर मारेको बताएका थिए। तर उनको मानसिक अवस्था कमजोर देखिएकाले सम्बन्धित पक्षहरूले दण्डभन्दा उपचार र निगरानीलाई प्राथमिकता दिएका छन्।

यो घटना केवल एउटा कुकुरको मृत्यु मात्र होइन, मानव संवेदना, जिम्मेवारी र मानसिक स्वास्थ्यप्रतिको हाम्रो दृष्टिकोणबारे गम्भीर प्रश्न उठेको छ

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.