नेपालमा कुखुरापालन व्यवसाय तीव्र रूपमा विस्तार हुँदै गएको देखिएको छ, विशेषगरी ब्रोइलर कुखुराबाट किसानहरूले उल्लेखनीय आम्दानी गरिरहेका छन्। पछिल्लो तथ्यांकअनुसार देशभर वार्षिक करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा उत्पादन हुँदै आएको छ, जसबाट करिब ५८ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। सामान्यतया ब्रोइलर कुखुरा करिब ४३–४४ दिनसम्म पालेर औसत २.६ केजी तौल पुगेपछि बजारमा बिक्री गरिन्छ।
कुल कुखुरापालनमध्ये अधिकांश हिस्सा ब्रोइलर जातको रहेको छ। वार्षिक रूपमा १२ करोडभन्दा बढी कुखुरा पालन गरिँदा करिब १० करोड कुखुरा बिक्रीमा जाने र त्यसबाट करिब ५७ अर्ब ८६ करोड रुपैयाँ आम्दानी हुने देखिएको छ। छोटो अवधिमा उत्पादन र लगानीको प्रतिफल प्राप्त हुने भएकाले यो व्यवसाय किसान तथा साना उद्यमीबीच लोकप्रिय बन्दै गएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुखुरापालन अब परम्परागत उपभोगमा सीमित नरही व्यावसायिक रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ। सीमित जमिन र तुलनात्मक रूपमा कम लगानीमा सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रले रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा व्यावसायिक कुखुरापालन सञ्चालनमा रहेको छ भने मनाङ र मुस्ताङमा भने यस्तो गतिविधि अझै सुरु भएको छैन। हाल देशभर करिब २२ हजार ९२८ फार्म तथा कृषक यस व्यवसायमा संलग्न छन्, जसमा ९२ प्रतिशत मासु उत्पादन, ७.४ प्रतिशत अण्डा उत्पादन र ०.५ प्रतिशत चल्ला उत्पादनमा केन्द्रित छन्।
प्रदेशगत रूपमा बागमती प्रदेश ब्रोइलर उत्पादन र आम्दानी दुवैमा अग्रस्थानमा रहेको छ। मूल्यका हिसाबले भने कर्णाली प्रदेशमा प्रतिकेजी औसत २७८ रुपैयाँ सबैभन्दा उच्च रहेको छ भने मधेश प्रदेशमा १९२ रुपैयाँ सबैभन्दा कम मूल्य रहेको देखिएको छ।
कुखुरापालन व्यवसायमा पुरुषको सहभागिता बढी देखिएको छ, जहाँ करिब ७९.५ प्रतिशत फार्म पुरुषले सञ्चालन गरेका छन् भने महिला उद्यमीको हिस्सा २०.५ प्रतिशत रहेको छ। अधिकांश फार्म व्यक्तिगत स्वामित्वमा रहेका छन् र ३५–४४ वर्ष उमेर समूहका व्यवसायीहरूको संलग्नता सबैभन्दा बढी छ। यस क्षेत्रमा करिब ६३ हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा आबद्ध छन्।
उत्पादनका हिसाबले वार्षिक रूपमा करिब ६० अर्ब रुपैयाँभन्दा बढीको कुखुराको मासु, १४ अर्बभन्दा बढीको अण्डा, १० अर्बभन्दा बढीको चल्ला र एक अर्बभन्दा बढीको मल उत्पादन तथा बिक्री भइरहेको छ। यस क्षेत्रको कुल खर्च करिब ७८ अर्ब रुपैयाँ पुगेको छ, जसमा दानामा मात्रै सबैभन्दा बढी, करिब ५३ अर्ब ९८ करोड रुपैयाँ खर्च हुने गरेको छ। त्यसपछि चल्ला खरिदमा ११ अर्ब ५६ करोड र औषधि तथा खोपमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने गरेको छ।

कुल लगानीतर्फ हेर्दा पोल्ट्री क्षेत्रमा करिब ६१ अर्ब ५० करोड रुपैयाँ बराबरको स्थायी सम्पत्ति रहेको छ भने करिब ३७ प्रतिशत फार्मले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन्। बिमा गर्ने फार्मको संख्या न्यून रहेको छ र दाबी गर्नेहरूमध्ये पनि आधाभन्दा केही बढीले मात्र क्षतिपूर्ति पाउने गरेका छन्।
व्यवसायीहरूको भावी योजनाअनुसार अधिकांश (५५.७ प्रतिशत) ले व्यवसायलाई यथावत् सञ्चालन गर्ने योजना बनाएका छन् भने ३५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएका छन्। केहीले भने घटाउने वा बन्द गर्ने योजना बनाएका छन्।
चल्ला उत्पादनमा पनि बागमती प्रदेश अगाडि रहेको छ, जहाँ उच्च संख्यामा अण्डा इनक्युबेसन गरी ठूलो मात्रामा चल्ला उत्पादन भइरहेको छ। ह्याचेबिलिटी दरका हिसाबले भने गण्डकी प्रदेश अग्रस्थानमा रहेको छ। राष्ट्रिय रूपमा हेर्दा करिब ८२ प्रतिशत ह्याचेबिलिटी दर कायम भएको छ, जसले उत्पादन क्षमताको उच्च स्तरलाई संकेत गर्छ।
समग्रमा, कुखुरापालन व्यवसाय नेपालमा आयआर्जन, रोजगारी सिर्जना र कृषि अर्थतन्त्रको मजबुतीका लागि महत्वपूर्ण क्षेत्रको रूपमा स्थापित हुँदै गएको देखिन्छ।