AgriVet Sanchar

पढाइ प्रभावित, परीक्षा विवाद: लमजुङ क्याम्पसमा विद्यार्थीको रिले अनशन

लमजुङमा क्याम्पस प्रशासनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरूले थालेको रिले अनशन तेस्रो दिनमा पनि जारी रहेको छ। सरोकारवाला निकायहरू मौन रहेको भन्दै सोमबारदेखि निधारमा कालोपट्टी बाँधेर र मुखमा टेप टालेर शान्तिपूर्ण रूपमा रिले अनशनमा उत्रि असन्तुष्टि जनाएका छन्।

यसअघि क्याम्पस प्रमुख र चौथो सत्रान्तका विद्यार्थीबीच चुनावअघि हुन नसकेका परीक्षाहरू चुनावपछि नियमित प्रक्रियाअनुसार सञ्चालन गर्ने सहमति भएपछि क्याम्पसमा लगाइएको ताला खोलिएको थियो। तर अहिले सो सहमतिअनुसार प्रक्रिया अघि नबढेपछि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।विद्यार्थीहरूका अनुसार निर्वाचनअघि स्थगित गरिएका परीक्षाहरू फागुन २६ गतेपछि नियमित तालिकाअनुसार सञ्चालन गर्ने सहमति फागुन ११ गते क्याम्पस प्रमुखसँग भएको थियो।

सहमति कार्यान्वयनको माग गर्दै विद्यार्थीहरू क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठको कार्यकक्षमै रिले अनशनमा बसेका छन्। उनीहरूले सहमति विपरीत परीक्षालाई ‘ब्याक’मा राख्न खोजिएको आरोप पनि लगाएका छन्।

विद्यार्थीहरूको भनाइ अनुसार क्याम्पस र डीन कार्यालयबीच समन्वय अभावका कारण समस्या उत्पन्न भएको छ।उनीहरूका अनुसार पुस महिनाबाट सुरु भएको चौथो सत्रान्तको पढाइ जम्मा दुई सातामात्रै नियमित हुन सकेको र त्यसपछि हिउँदे बिदा, ‘व्याक’ परीक्षा, शिक्षकहरूको आन्तरिक आन्दोलन, क्याम्पस परिसरमा भएका सुन्दरबजार महोत्सव, सुन्दरबजार कप लगायत कार्यक्रमहरूका कारण पढाइ प्रभावित भएको थियो।

नियमित कक्षा र आन्तरिक मूल्यांकन पूरा नभइसकेकै अवस्थामा परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरूले परीक्षा सार्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.