काठमाडौँ — राष्ट्रियसभाले पशुपन्छी तथा मत्स्य क्षेत्रमा फैलिन सक्ने संक्रामक रोग नियन्त्रण र रोकथामका लागि ल्याइएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि छलफल अघि बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। प्रस्ताव पेश गर्दै उनले पशुपन्छी र मत्स्य क्षेत्रमा महामारीको रूप लिन सक्ने रोगको प्रभाव न्यूनीकरण गर्न प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेकाले विधेयक ल्याइएको बताइन्।
प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रेमप्रसाद दङ्गाल, युवराज शर्मा, मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र, रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, श्रीकृष्णप्रसाद अधिकारी, बासुदेव घिमिरे, भुवनबहादुर सुनुवार र धर्मेन्द्र पासवान सहभागी भएका थिए।
यसै बैठकमा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ बारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराउँदै टेबुल गरे।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गरे।
राष्ट्रियसभाको अर्को बैठक साउन २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका छ।