चितवन। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनले पछिल्लो एक वर्षमा विभिन्न जिल्लाबाट ल्याइएका करिब सात हजार कुखुराको पोस्टमार्टम गरी रोग पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाकाकिसानले ल्याएका कुखुराको परीक्षणका क्रममा विभिन्न संक्रामक रोग देखिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशाला प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोस्टमार्टमसँगै प्रयोगशालाले विभिन्न विधिबाट कुखुराको नमुना परीक्षण गर्दै रोगको अवस्था पहिचान गर्दै आएको छ।
प्रयोगशालामा परीक्षण गरिएका करिब एक हजार पाँच सय नमुनामध्ये सबैभन्दा बढी इकोलाई संक्रमण देखिएको छ। परीक्षणमा २२ प्रतिशत नमुनामा इकोलाई, १३ प्रतिशतमा गम्बारो र ९ प्रतिशतमा कुखुरामा घ्यारघ्यार हुने सीआरडी संक्रमण पाइएको डा. श्रेष्ठले जानकारी दिए।
त्यसैगरी, ९ प्रतिशतमा ढुसीजन्य संक्रमण, ४ प्रतिशतमा सीसीआरडी तथा ३.५ प्रतिशत नमुनामा साल्मोनेलोसिस देखिएको छ। परीक्षणका क्रममा एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी तथा रानीखेतजस्ता रोगको संक्रमणसमेत पहिचान भएको प्रयोगशालाले जनाएको छ।
द्रुत परीक्षणमार्फत २७८ नमुना जाँच गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा संक्रमण पुष्टि भएको थियो। यस्तै, १७६ नमुनामा गरिएको गम्बारो परीक्षणमा १०९ वटामा संक्रमण देखिएको छ। रानीखेतका ९९ नमुना परीक्षण गर्दा सातवटा संक्रमित भेटिएका थिए भने ४६ वटा नमुनामा गरिएको आइबी परीक्षणबाट दुईवटामा संक्रमण पुष्टि भएको थियो।
प्रयोगशालाका अनुसार पीएटी विधिबाट परीक्षण गरिएका ३६९ नमुनामध्ये १२ वटामा साल्मोनेला भेटिएको थियो। त्यस्तै, ३६० नमुनाको परीक्षणमा १६ वटामा माइकोप्लाज्मा संक्रमण देखिएको थियो। एलाइजा विधिबाट परीक्षण गरिएका १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र सोही संख्याका नमुनामध्ये ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) को संक्रमण फेला परेको प्रयोगशालाले जनाएको छ।
यसैगरी, ९०० वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा संक्रमण देखिएको थियो।
संक्रमण पुष्टि भएका नमुनाका आधारमा किसान तथा सेवाग्राहीलाई आवश्यक एन्टिबायोटिकबारे समेत परामर्श दिइँदै आएको डा. श्रेष्ठले बताए। उनका अनुसार कुखुरामा रोग फैलिन नदिन औषधि उपचारसँगै जैविक सुरक्षा (बायोसिक्युरिटी) मा विशेष ध्यान दिन आवश्यक छ।
कुखुरापालनमा जैविक सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू गर्न नसक्दा रोग संक्रमणको जोखिम बढ्ने भएकाले फार्ममा बाह्य व्यक्तिको आवतजावत नियन्त्रण, सरसफाइ तथा संक्रमण रोकथामका उपायमा किसानले विशेष सावधानी अपनाउनुपर्ने प्रयोगशालाको सुझाव छ।