काठमाडौं — रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाल पशु चिकित्सा परिषद्ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल पशु उद्धार, उपचार तथा पुनर्स्थापनामा सहयोग गर्न सरोकारवालालाई अपिल गरेको छ।
परिषद्ले जारी गरेको अपिलमा यस अप्रत्याशित प्राकृतिक विपद्मा परी जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी तथा सकुशल उद्धारका लागि सम्बन्धित सबै पक्षसँग परिषद्ले आग्रह गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा ठूलो संख्यामा व्यावसायिक पशुपन्छी तथा मत्स्यपालन हुँदै आएकाले पशुधनमा समेत गम्भीर क्षति पुगेको परिषद्को आकलन छ।
परिषद्ले यस्तो विषम परिस्थितिमा आफ्ना सम्पूर्ण दर्तावाला पशु चिकित्सकहरूलाई उच्च व्यावसायिक उत्तरदायित्वका साथ प्रभावित क्षेत्रमा तत्काल मानवीय उद्धार, घाइते पशुको उपचार तथा पुनर्स्थापनाका कार्यमा खटिन आह्वान गरेको छ।
त्यसैगरी, प्रभावित क्षेत्रका पशुपन्छीको उपचार तथा पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक, औषधिजन्य, आर्थिक तथा अन्य आवश्यक सहयोगउपलब्ध गराउन सम्पूर्ण सरोकारवालालाई परिषद्ले हार्दिक अपिल गरेको छ।
नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. हेमराज अवस्थीद्वारा जारी अपिलमा विपद्को यस कठिन घडीमा पशु चिकित्सक, पशुपालक, व्यवसायी तथा सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
नेपाल पशु चिकित्सा परिषद्ले विपद्पछिको पशु उद्धार, उपचार र पुनर्स्थापनालाई समेत प्राथमिकतामा राख्दै सम्बन्धित सबै पक्षलाई सक्रिय सहयोगका लागि आह्वान गरेको हो।
