काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनसँगै पशुपन्छी क्षेत्रमा समेत गम्भीर क्षति पुर्याएपछि पशु स्वास्थ्य तथा पशुपन्छी क्षेत्रसँग सम्बद्ध संघ–संस्थाहरूले उद्धार, उपचार तथा राहतका लागि अपिल गरेका छन्।
नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट तथा धादिङमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। एसोसिएसनले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र राहतका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा पशुपन्छी तथा मत्स्यपालनमा समेत क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एसोसिएसनले पशु चिकित्सक सम्मिलित विशेष टोली तत्काल परिचालन गर्ने जनाएको छ। प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचार, रोग नियन्त्रण, खोप तथा औषधिको व्यवस्थापन, आवश्यक पशु स्वास्थ्य सामग्रीको उपलब्धता, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने एसोसिएसनले जनाएको छ।
यसैगरी, नेपाल पशुपन्छी औषधि व्यवसायी संघले पनि विज्ञप्ति जारी गर्दै बाढीबाट नदी किनारका बस्ती, पुल, भौतिक संरचना तथा चौपायामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष रितेश रिमाल र महासचिव साधुराम ढकालद्वारा हस्ताक्षरित अपिलमा बाढीबाट घाइते भएकाहरूको तत्काल उद्धार तथा उपचार गर्न र बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन राज्य, स्थानीय तह तथा सम्बन्धित संघ–संस्थालाई आग्रह गरिएको छ।

बाढीका कारण पशुपन्छीको मृत्यु तथा विस्थापनसँगै रोग फैलिन सक्ने जोखिमसमेत रहेकाले प्रभावित क्षेत्रमा उद्धारसँगै पशु स्वास्थ्य, रोग नियन्त्रण, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन र जैवसुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै सम्बन्धित संघ–संस्थाहरूले सर्वसाधारणलाई नदीको बहाव क्षेत्रभन्दा टाढा सुरक्षित स्थानमा रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान अपिल गरेका छन्। साथै, विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा पशुपालकको सहयोगमा एकजुट भई आवश्यक प्राविधिक, औषधिजन्य तथा राहत सहयोग उपलब्ध गराउन पशु स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ।