AgriVet Sanchar

७० रोपनीमा अंगुर खेती: ४० करोड लगानी, तनहुँ घिरिङबाट वाइन उत्पादन सुरु

तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसे क्षेत्रमा करिब ७० रोपनी जमिनमा अंगुर खेती विस्तार गरिएको छ। वाइन उत्पादन र टेबल फल दुवै उद्देश्यले गरिएको यस खेतीबाट पहिलो वर्षमै १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य लिइएको छ।

घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टर’ नामक फर्म गाउँपालिकामा दर्ता भई सञ्चालनमा आएको हो। काठमाडौंका कुमार कार्कीको नेतृत्वमा सञ्चालित यस परियोजनामा स्वीट्जरल्याण्डबाट बिरुवा आयात गरी करिब ९ हजार ५०० वटा रोपिएको छ। प्रारम्भिक वर्षमा परीक्षणका लागि ३२ भन्दा बढी प्रजातिका अंगुर लगाइएको छ।

कार्कीका अनुसार हालसम्म यस परियोजनामा करिब ४० करोड रुपैयाँ लगानी भइसकेको छ। ‘पातले बन भाइन्यार्ड वाइनरी’ ब्रान्डमार्फत वाइन उत्पादन बजारमा ल्याइसकिएको छ, जसको वार्षिक उत्पादन क्षमता करिब ३ लाख लिटर रहेको छ।

७५० एमएलका विभिन्न तीन प्रकारका वाइन प्रति बोतल १२०० रुपैयाँमा बिक्रीका लागि उपलब्ध गराइएको छ। साथै, कार्कीले धादिङको थाक्रे गाउँपालिकाको जुङ्गेखोलामा विगत १५ वर्षदेखि करिब १५० रोपनी क्षेत्रमा अंगुर खेती गर्दै आएका छन्, जहाँ वाइन उत्पादनका लागि आवश्यक प्रशोधन तथा उद्योगसमेत सञ्चालनमा रहेको छ।

दुई वर्षअघि सुरु गरिएको नयाँ खेतीमा वाइनका लागि ‘सुजी’, ‘क्याबिनेट क्यान्टर’, ‘मनाज’, ‘सोभिनियन ग्रीस’ लगायत तथा खाने अंगुरतर्फ ‘फन्नी’, ‘सोफिया’, ‘आरकाडिया’, ‘पोलिस्की’, ‘दुचबा’, ‘चालिचमान’ जस्ता विभिन्न प्रजातिहरू रोपिएका छन् र उत्पादनसमेत सुरु भइसकेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.