अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–७ मा अवस्थित “न्यौपाने बोयर बाख्रा तथा कृषि फार्म” आज बोयर जातका बाख्राको एक विश्वासिलो स्रोत केन्द्रका रूपमा पहिचान बनाउँदै अघि बढिरहेको छ। यस फार्मका सञ्चालक अग्रणी कृषक लक्ष्मण न्यौपाने विगत ७ वर्षदेखि बोयर बाख्राको शुद्ध नस्ल संरक्षण, वैज्ञानिक उत्पादन र व्यवस्थित वितरणमा निरन्तर रूपमा संलग्न रहँदै आउनुभएको छ।

फार्ममा उत्पादन हुने बोयर जातका बाख्रा तथा पाठापाठीहरू नेपाल कृषि अनुसन्धान परिषद् (NARC) बाट प्रमाणित रहेका छन्। विदेशबाट आयात गरिएका प्रमाणित शुद्ध बोयर बाख्रालाई आधुनिक तथा वैज्ञानिक प्रजनन प्रविधिबाट उत्पादन गरी अर्घाखाँचीसहित देशका विभिन्न जिल्लामा बिक्री–वितरण गरिँदै आएको छ। यसले नेपाली किसानहरूलाई गुणस्तरीय नश्ल सजिलै उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ।व्यावसायिक रूपमा सञ्चालन गरिएको यस फार्मबाट कृषक न्यौपानेले वार्षिक करिब १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ। गुणस्तरीय बोयर बाख्राको बढ्दो मागसँगै “न्यौपाने बोयर बाख्रा तथा कृषि फार्म” किसानहरूका लागि नमुना, विश्वासिलो र प्रेरणादायी स्रोत केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

फोटो: चरण क्षेत्र मा बाख्राहरू
आफ्नो व्यवसायप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको बताउँदै कृषक न्यौपानेले आगामी दिनमा फार्मलाई अझ विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने तथा आफ्नो गाउँ–ठाउँको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ।
यस फार्मले बोयर बाख्रापालनमार्फत व्यावसायिक कृषिमा आत्मनिर्भरता सम्भव छ भन्ने सशक्त सन्देश सम्पूर्ण नेपाली कृषक समुदायलाई दिएको छ।