AgriVet Sanchar

घर मात्रै होइन, किसानको भविष्य पनि बाढीले बगायो : नुवाकोटमा ठूलो पशुधनको क्षति

बाढीको सातौँ दिन NVA टोली प्रभावित क्षेत्रमा पुग्दा नुवाकोटमा मात्रै १०–१५ हजार बंगुर, डेढ लाख कुखुरा र करिब ५०० भैंसी नष्ट भएको प्रारम्भिक अनुमान; अब तत्काल राहतसँगै पशुधन पुनर्स्थापनाको चुनौती

 

त्रिशूली, नुवाकोट —

भोटेकोशीमा बाढी आएको सातौँ दिन। पानीको उग्र वेग केही मत्थर भइसकेको थियो। तर त्रिशूली नदी आसपासका बस्तीमा बाढीको रौद्र रूप अझै जताततै देखिन्थ्यो। कतै घरका भग्नावशेष थिए भने कतै गोठ र खोरका अवशेष मात्र । नदी किनारमा थुप्रिएको हिलो, ढुंगा र बगेर आएका सामग्रीले केही दिनअघिसम्म मानिस र पशुपन्छीले भरिएको बजारलाई गिज्याइरहेरहेका थिएँ

त्यही दृश्यबीच नेपाल भेटेरिनरी एसोसिएसन को ६ सदस्यीय टोली त्रिशूली क्षेत्रका बाढी प्रभावित स्थानमा बुधबार आवश्यक राहत सामग्री सहितपुग्यो। उद्देश्य थियो—बाढीले पशुपन्छीमा पारेको क्षति बुझ्ने, जीवित पशुपन्छीको अवस्था हेर्ने र तत्काल आवश्यक पशु औषधि तथा राहतको व्यवस्था गर्ने।

तर टोलीले त्यहाँ भेटेको अवस्था सामान्य विपद्पछिको क्षति थिएन।

“पशु थिएनन्। गोठ खाली थिए। फार्महरू उजाडिएका थिए।”

NVA को स्थलगत अनुगमनबाट प्राप्त प्रारम्भिक विवरणअनुसार नुवाकोटमा मात्रै १० देखि १५ हजार सुँगुर/बंगुर, करिब एक लाख ५० हजार व्यावसायिक कुखुरा र करिब ५०० भैंसी बाढीमा बगेर मरेका छन्।

बाढीको जलप्रवाह यति तीव्र थियो कि घाइते अवस्थामा समेत पशुपन्छी जीवित भेटिने सम्भावना न्यून रहेको टोलीको निष्कर्ष थियो।

संख्या मात्रै होइन, किसानको भविष्य पनि बग्यो

किसानका लागि पशुधन केवल सम्पत्ति होइन। भैंसी दूध र आम्दानीको स्रोत हो। बंगुर र कुखुराको व्यावसायिक फार्म परिवारको रोजगारी र वर्षौंको लगानी हो।

त्यसैले बाढीले पशुपन्छी बगाउँदा किसानले एउटा जनावर मात्र गुमाएका छैनन्—उनीहरूले आफ्नो आम्दानीको आधार, लगानी र भविष्यको एउटा ठूलो हिस्सा गुमाएका छन्।

पशु सेवा विभागबाट प्राप्त पछिल्लो प्रारम्भिक विवरणले पनि नुवाकोटमा पशुधनको क्षति ठूलो रहेको देखाउँछ।

विभागका अनुसार नुवाकोटमा १,२७८ गाईभैंसी, २ हजार बाख्रा, १ लाख २० हजार ९१३ कुखुरा र १ हजार ५०० बंगुर मरेका छन्। त्रिशूलीमा रहेको सरकारी मत्स्य फार्मका १०० पोखरीमा रहेका २६ हजार ५८९ माछा तथा ६८८ केजी माछासमेत नष्ट भएको विवरण छ।

यी सरकारी तथ्यांक र NVA टोलीले स्थलगत रूपमा संकलन गरेको प्रारम्भिक अनुमानमा अन्तर देखिन्छ। त्यसैले पशुधन क्षतिको अन्तिम विवरण विस्तृत प्रमाणीकरणपछि मात्रै यकिन हुने देखिन्छ।

तर दुवै तथ्यांकले एउटा कुरा भने स्पष्ट गर्छन्—पशुपन्छी क्षेत्रमा भएको क्षति अत्यन्त ठूलो छ।

बाढीपछि सुरु भयो अर्को जोखिम

ठूलो संख्यामा पशुपन्छी मरेपछि अब चुनौती केवल क्षतिको हिसाब राख्नुमा सीमित छैन। मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन र जीवित पशुपन्छीमा रोग फैलिन नदिनु अर्को ठूलो चुनौती बनेको छ।

बाढीले बगाएका पशुका शव केही दिनपछि समेत त्रिशूली र नारायणी नदी किनारमा भेटिनुले विपत्तिको गहिराइ देखाएको छ।

मृत पशुपन्छी समयमै व्यवस्थापन हुन नसके पानी, माटो र वातावरण दूषित हुने तथा संक्रामक रोगको जोखिम बढ्न सक्छ। त्यसैले पशु सेवा विभाग र NVA ले तत्काल मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन, रोग नियन्त्रण तथा पशु स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

पशु सेवा विभागले नुवाकोट र रसुवामा प्राविधिक टोली परिचालन गरी घाइते पशुपन्छीको उपचार, मृत पशुको सुरक्षित व्यवस्थापन, जैविक सुरक्षा र सम्भावित रोग नियन्त्रणमा काम थालेको जनाएको छ।

घर गुमाएका पशु चिकित्सकको परिवार

अनुगमनका क्रममा NVA टोलीले आफ्नै सदस्य डा. सुदीप कोइरालाको परिवारलाई पनि अस्थायी आश्रयस्थलमा भेट्यो।

डा. कोइरालाको घर बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बाढीले अरू किसानका पशु र फार्म बगाएको दृश्य हेर्न पुगेको टोलीले आफ्नै सहकर्मीको परिवार पनि विस्थापित भएको पीडा नजिकबाट महसुस गर्‍यो।

टोलीले परिवारसँग भेट गरी दुःखको यस घडीमा सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दै पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

एसोसिएसन का अर्का सदस्य डा. तुलसी गोम्पोको विस्थापित परिवारसम्म भने टोली पुग्न सकेन। परिवार त्रिशूली नदीपारि रहेका कारण बाढीपछिको अवरुद्ध आवागमनले त्यहाँ पुग्न सम्भव भएन।

यही अवस्थाले बाढीपछि राहतको अर्को कठिनाइ देखाउँछ—पानी घटे पनि सबै प्रभावित मानिस र पशुपालकसम्म राहत तथा स्वास्थ्य सेवा पुगिसकेको छैन।

औषधि पुर्‍याउन तुइनको सहारा

त्रिशूलीपारि तत्काल आवश्यक भेटेरिनरी औषधि पुर्‍याउनु पनि टोलीका लागि चुनौती थियो। बाढीले सडक तथा आवागमन संरचनामा क्षति पुर्‍याएका कारण केही अत्यावश्यक औषधि डा. सुजाता अधिकारीले प्राप्त गर्ने गरी तुइनमार्फत पठाउने व्यवस्था गरिएको थियो

त्रिशूलीस्थित पशु सेवा कार्यालयका प्रमुख डा. निशान्त शर्मा गेलाललाई आवश्यक भेटेरिनरी औषधि तथा फिड सप्लिमेन्ट हस्तान्तरण गरियो।

बाढी प्रभावित पशुपन्छीको उपचारका लागि निजी क्षेत्रबाट पनि सहयोग आएको थियो जसमा कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क प्राथमिक उपचारका औषधि उपलब्ध गराउने , र  तिलिचो ट्रेडिङले  २०० भाइल भेटेरिनरी इन्जेक्सन सहयोग गर्ने घोषणा गरेको थियो।

यसैगरी, विदुर नगरपालिकामार्फत बाढी प्रभावित परिवारका लागि खाद्यान्नलगायत मानवीय राहत सामग्रीसमेत उपलब्ध गराइएको थियो।

राहतको फोनदेखि फिल्डसम्म

विपद्को सुरुवाती चरणमै NVA ले रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार र रोग नियन्त्रणका लागि निःशुल्क टेलिपरामर्श सेवा तथा ११५९ हटलाइन सञ्चालन गरेको थियो।

त्यसपछि प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न स्थलगत टोली परिचालन गरिएको थियो।

यसले पशु स्वास्थ्यलाई मानवीय राहतको छायामा पर्न नदिन खोजिएको प्रयास देखाउँछ। किनकि बाढीबाट बचेका पशुपन्छी पनि घाइते, कमजोर र दूषित पानी तथा दानाको अभावमा रोगको जोखिममा छन्।

अबको प्रश्न : किसान फेरि कसरी उठ्ने ?

बाढीले पशुपन्छी मारेको क्षतिको गणना गर्नु पहिलो चरण हो। त्यसपछि सुरु हुन्छ अझ कठिन काम—पुनर्स्थापना।

भैंसी गुमाएका किसानलाई नयाँ पशुधन चाहिन्छ। बंगुर फार्म बगेकालाई खोर र उत्पादन पुनःसुरु गर्ने पूँजी चाहिन्छ। कुखुरा फार्म गुमाएकालाई खोर पुनर्निर्माणसँगै चल्ला, दाना, औषधि र बजारसम्मको पहुँच आवश्यक हुन्छ।

त्यसैले प्रभावित किसानका लागि राहत केवल केही दिनको खाद्यान्न वा औषधिमा सीमित हुनु हुँदैन।

पशुधन पुनर्स्थापना, क्षतिपूर्ति, बीमा, फार्म तथा गोठ पुनर्निर्माण, रोग निगरानी, खोप, जैविक सुरक्षा र विपद् जोखिम न्यूनीकरणलाई दीर्घकालीन योजनाको हिस्सा बनाउनुपर्ने देखिन्छ।

विशेषगरी नुवाकोटको त्रिशूलीपारि र रसुवातर्फ यातायात अवरुद्ध हुँदा जीवित पशुपन्छीका लागि दाना आपूर्ति र उत्पादित दूध तथा मासु बजारसम्म पुर्‍याउनसमेत समस्या भएको पशु सेवा विभागको विवरण छ। अर्थात्, पशु गुमाएका किसान मात्र होइन, पशु बचेका किसानसमेत बाढीको दोस्रो मारमा छन्।

पशुधनको क्षति ग्रामीण अर्थतन्त्रको क्षति हो

भोटेकोशी र त्रिशूलीको बाढीले घर, सडक, पुल र पूर्वाधारमा क्षति पुर्‍याएको देखिन्छ। तर त्यसको समानान्तर कथा गोठ र फार्ममा पनि देखिएको छ छ।

नदी किनारमा बगेर आएका पशुका शवले त्यो कथा बोलिरहेका छन्।

किसानका लागि घर पुनःनिर्माण गर्न सकिन्छ। गोठ फेरि बनाउन सकिन्छ। फार्म पनि विस्तारै उठाउन सकिन्छ। तर त्यसका लागि राज्य, स्थानीय तह, पशु स्वास्थ्य क्षेत्र र निजी क्षेत्रको समन्वित सहयोग आवश्यक छ।

यही आवश्यकतालाई ध्यानमा राख्दै NVA ले राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यस अभियानमा आवश्यक पशु उपचारसम्बन्धी औषधि उपलब्ध गराउन सहयोग गर्ने कान्तिपुर भेटेरिनरी वितरक, कान्तिपुर औषधि लिमिटेड र तिलिचो ट्रेडिङ प्रा.लि. तथा मानवीय राहत र सहयोगमा म्याजिक मार्बल फाउन्डेसन नेपालजस्ता संस्थाहरू रहेका छन्।

बाढीको पानी घटेको छ। तर किसानका लागि संकट अझै घटेको छैन।

नदीले बगाएको पशुधन फर्काउन सकिँदैन। तर किसानलाई फेरि पशुधनसँग जोड्न सकिन्छ। त्यसका लागि अब राहतको हातबाट पुनर्स्थापनाको हाततर्फ अघि बढ्नुपर्ने बेला आएको छ।

बाढीले मानव जीवनमा पुर्‍याएको क्षतिको हिसाब भइरहेको छ। अब त्यससँगै किसानको गोठ, फार्म र पशुधनमा हराएको जीवनको पनि हिसाब राख्नुपर्ने समय आएको छ।

बाढी प्रभावित क्षेत्रमा खटिएको NVA टोलीमा सचिव डा. विशाल पोखरेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष एवं केन्द्रीय कमिटी सदस्य डा. उमेश गिरी, केन्द्रीय कमिटी सदस्य डा. सुशीलकुमार राय, पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य डा. राकेश चन्द सहभागी थिए।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.