AgriVet Sanchar

भेडेटारबाट उद्धार गरिएको मृगलाई पुनः प्राकृतिक बासस्थानमा फर्काउने तयारी

धनकुटा । धनकुटाको भेडेटार क्षेत्रबाट केही महिना अघि उद्धार गरिएको रतुवा मृगलाई उपचारपछि पुनः प्राकृतिक बासस्थानमा फर्काउने तयारी गरिएको छ। डिभिजन वन कार्यालय धनकुटाले उक्त मृगलाई तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा छाड्ने निर्णय गरेको हो।

वन कार्यालयका अनुसार अस्वस्थ र कमजोर अवस्थामा फेला परेको मृगलाई उद्धार गरी करिब सात महिनासम्म संरक्षणमा राख्दै उपचार र नियमित हेरचाह गरिएको थियो। अहिले मृग पूर्ण रूपमा स्वस्थ भइसकेको र जंगलमा स्वतन्त्र रूपमा बाँच्न सक्ने अवस्थामा पुगेपछि पुनःस्थापना प्रक्रिया अघि बढाइएको जनाइएको छ।

कार्यालय प्रमुख सञ्जीवराज ढकालले सुरक्षित र उपयुक्त आवासका रूपमा टिएमजे क्षेत्र छनोट गरिएको जानकारी दिए। अन्य स्थानमा छाड्दा पुनः आक्रमण वा जोखिमको सम्भावना रहने भएकाले जैविक विविधताले भरिपूर्ण र तुलनात्मक रूपमा सुरक्षित मानिने उक्त क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो।

टिएमजे क्षेत्र वन्यजन्तुका लागि अनुकूल वातावरण र पर्याप्त आहारा उपलब्ध हुने क्षेत्रका रूपमा परिचित छ, जसले उद्धार गरिएका प्रजातिहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालयले वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राख्दै उद्धार, उपचार र पुनःस्थापनासम्बन्धी गतिविधि आगामी दिनमा पनि निरन्तर अघि बढाउने जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.