बाजुरा — चट्याङ र पहिरोका घटनाले बाजुरामा ठूलो क्षति भएको छ। बुधबार वनमा चराउन लगिएका ३९ वटा भेडाबाख्रा चट्याङ लागेर मरेका छन्।
स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित जोरुको रानीसैन वनमा चरिरहेका भेडाबाख्रा पानी परेपछि ओत लाग्न ओडारमा बसेका बेला चट्याङ पर्दा सबै मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरीचौकी स्वामीकार्तिकबाट टोली घटनास्थलतर्फ खटिएको थियो।
यसअघि मंगलबार पनि जिल्लामा यस्तै दुःखद घटना भएको थियो। वनबाट चराएर घर फर्काउने क्रममा आएको पहिरोमा परी जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ वटा बाख्रा मरेका थिए भने ३८ वटा भेडाबाख्रा बेपत्ता भएका छन्।
त्यसै दिन त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा पनि स्थानीय कूलबहादुर साउँदका तीन वटा बाख्रा गोठमै चट्याङ लागेर मरेका थिए।
लगातार प्राकृतिक विपत्तिका कारण किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ।
