काठमाडौं । अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले उत्पादन लागत तथा बजार अवस्थालाई मध्यनजर गर्दै फार्म समर्थन मूल्य समायोजन गरेपछि अण्डा महँगिएको हो।
सङ्घले चितवनलाई आधार क्षेत्र मानेर जारी गरेको नयाँ मूल्यसूचीअनुसार जेठ २३ गतेदेखि लागू हुने गरी सबै प्रमुख श्रेणीका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ। यसअघि जेठ १२ गते पनि मूल्य संशोधन गरिएको थियो। छोटो अवधिमै दोस्रोपटक मूल्य बढाइएपछि बजारमा यसको प्रभाव देखिन थालेको छ।
नयाँ दरअनुसार एक्सएल श्रेणीको अण्डा प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ। यसअघि यही अण्डा ५४५ रुपैयाँमा बिक्री भइरहेको थियो। यस्तै ठूलो आकारको अण्डाको मूल्य ५३० रुपैयाँबाट बढेर ५४५ रुपैयाँ कायम गरिएको छ भने मिडियम अण्डा ५१५ रुपैयाँ पुगेको छ, जुन यसअघि ५०० रुपैयाँ थियो।
साना आकारका अण्डाका लागि भने फरक मूल्य निर्धारण गरिएको छ। सङ्घले सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार रुपैयाँ तोकेको जनाएको छ। यसअघि यस्तो अण्डा प्रतिक्रेट ४०० रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको थियो।
लगातार बढ्दो मूल्यका कारण खुद्रा बजारमा पनि अण्डाको भाउ थप महँगिने संकेत देखिएको छ। व्यवसायीहरूका अनुसार फार्मस्तरमै मूल्य वृद्धि भएकाले उपभोक्ताले अब अण्डा खरिद गर्दा थप रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।
दैनिक उपभोगमा व्यापक रूपमा प्रयोग हुने अण्डाको मूल्यमा आएको यो पछिल्लो वृद्धिले बढ्दो महँगीबीच सर्वसाधारणको घरायसी बजेटमा थप दबाब पर्ने अनुमान गरिएको छ।