AgriVet Sanchar

बर्ड फ्लुबाट ५ लाख ६९ हजार पन्छी नष्ट: काठमाडौंमा बर्ड फ्लु नियन्त्रण चुनौतीपूर्ण बन्दै

काठमाडौं । देशका अधिकांश प्रभावित क्षेत्रमा बर्ड फ्लु नियन्त्रणमा आए पनि काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकका केही स्थानमा भने संक्रमण अझै देखिइरहेको पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार पछिल्ला तीन महिनायता देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु (एच–५एन–१) संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएका जिल्लामा झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक रहेका छन्।

हाल झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। तर काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भने संक्रमण देखिने क्रम जारी रहेकाले निगरानी र नियन्त्रणका गतिविधि तीव्र बनाइएको छ।

रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष ‘बर्ड फ्लु रोग नियन्त्रण कक्ष’ गठन गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्राविधिक जनशक्ति परिचालन गरेको जनाएको छ। संक्रमण पुष्टि भएका क्षेत्रमा तत्काल रोगको अवस्था मूल्याङ्कन, संक्रमित क्षेत्रको व्यवस्थापन तथा नियन्त्रणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको विभागको भनाइ छ।

विभागका अनुसार हालसम्म संक्रमण नियन्त्रणका क्रममा पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ, जसले संक्रमण थप फैलिन नदिन सहयोग पुगेको विभागको विश्वास छ।

कोशी प्रदेशमा संक्रमण फैलिएको समयमा एक महिनासम्म पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा रोक लगाइएको थियो। अहिले त्यहाँको अवस्था सामान्य बन्दै गएपछि उक्त प्रतिबन्ध हटाइएको विभागले जनाएको छ।

सीमावर्ती क्षेत्रमा रहेका पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखिएको छ। अवैध रूपमा भित्र्याइने शंकास्पद पन्छी नियन्त्रण गर्न नियमित गस्ती र निगरानी बढाइएको छ। साथै केन्द्रीय तथा प्रादेशिक प्रयोगशालाबाट नमूना परीक्षणलाई तीव्र बनाइएकाले संक्रमण पुष्टि हुनासाथ आकस्मिक रोग अनुसन्धान टोली (EDIT) र द्रुत प्रतिक्रिया टोली (RRT) परिचालन गरी आवश्यक नियन्त्रणका उपाय अवलम्बन गरिएको विभागले जनाएको छ।

विभागले देशमा देखिएको बर्ड फ्लु भाइरसमा कुनै आनुवंशिक परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रम (Sequencing) परीक्षणसमेत सुरु गरिएको जानकारी दिएको छ।

यसैबीच, प्रयोगशालामा परीक्षणका क्रममा बर्ड फ्लुबाहेक लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच–९एन–२), रानीखेत रोग तथा इ.कोलाई संक्रमणसमेत धेरै पन्छीमा देखिन थालेको विभागले जनाएको छ। यी रोगका कारण पनि पन्छीको मृत्युदर बढ्न सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण देखिएमा तत्काल प्राविधिकको सल्लाहअनुसार नियन्त्रणका उपाय अपनाउन विभागले आग्रह गरेको छ।

पशुपालकलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न, फार्ममा प्रवेश गर्ने सवारीसाधन पूर्ण रूपमा निःसंक्रमण गरेर मात्र भित्र्याउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन पनि विभागले अनुरोध गरेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्नुपर्ने व्यवस्था रहेको पनि विभागले स्मरण गराएको छ।

विभागले कुनै पनि फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी परेमा वा मरेमा ढिलाइ नगरी नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गर्दै बर्ड फ्लु नियन्त्रणका लागि सबै सरोकारवाला निकाय, व्यवसायी र किसानको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.