बुटवल । लुम्बिनी प्रदेशमा ठूलो संख्यामा पशुपन्छी औषधि पसल कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको खुलासा भएपछि ,पशु स्वास्थ्य क्षेत्रको नियमनमाथि गम्भीर प्रश्न उठेको छ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशले सम्बन्धित सरकारी निकायलाई जानकारी गराउँदै प्रदेशभर झण्डै ३०० वटा भेटेरिनरी पसल दर्ताविनै सञ्चालनमा रहेको जनाएको छ।
संघले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवललाई पठाएको पत्रमा दर्ता भएर सञ्चालनमा रहेका धेरै व्यवसायीले अनिवार्य ओरिएन्टेसन तालिम समेत नलिएको पाइएको छ। वर्षौंदेखि कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका व्यवसायलाई तत्काल कानुनी दायरामा ल्याउन र तालिमको व्यवस्था गर्न संघले माग गरेको छ।
यो विषय औषधि व्यवस्था विभाग, पशु सेवा विभाग तथा पशु सेवा तालिम केन्द्रसम्म पुगेपछि अब सरकारी तहबाट छानबिन प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। स्रोतका अनुसार विभागले अवैध रूपमा सञ्चालन भइरहेका पसलहरूको विवरण संकलन गरी कानुनी कारबाही गर्न सक्ने अधिकार भएको बताउँछन्।

यसअघि रूपन्देहीमा नक्कली तालिम प्रमाणपत्रका आधारमा औषधि पसल दर्ता गरिएको प्रकरण सार्वजनिक भएपछि विभागले अनुसन्धान थालेको थियो। सो घटनाले पशु औषधि क्षेत्रभित्रको अनियमितता र कमजोर अनुगमन प्रणालीलाई थप उजागर गरेको थियो।
विशेषज्ञहरूका अनुसार पशुपन्छी औषधि व्यवसायमा नियमन कमजोर हुँदा गुणस्तरहीन औषधिको प्रयोग, एन्टिबायोटिकको दुरुपयोग तथा पशु स्वास्थ्यमा गम्भीर जोखिम बढ्न सक्छ। किसानसम्म पुग्ने औषधिको विश्वसनीयता कमजोर हुँदा त्यसको असर प्रत्यक्ष रूपमा पशुपालन व्यवसाय र खाद्य सुरक्षामा समेत पर्न सक्ने देखिन्छ।
यता व्यवसायीहरूले बजारमा एन्टिबायोटिक इन्जेक्सन, पेनिसिलिन र हर्मोन समूहका पशु औषधिको अभाव देखिएको भन्दै आपूर्ति सहज बनाउन सरकारसँग
तत्काल पहलको माग गरेका छन्।