AgriVet Sanchar

पोल्ट्री क्षेत्र दबाबमा : कच्चा पदार्थ महँगिँदा दानाको मूल्य फेरि बढाउने तयारी

काठमाडौं । नेपाली दाना उद्योगले प्रयोग गर्ने प्रमुख प्रोटिनयुक्त कच्चा पदार्थ सोयाबिन मीलको मूल्य पछिल्लो एक महिनामा तीव्र रूपमा बढेपछि पोल्ट्री तथा पशुपालन क्षेत्र दबाबमा परेको छ। अन्तर्राष्ट्रिय बजारमा आपूर्ति घट्नु, भारतमा मूल्य उकालो लाग्नु र मध्यपूर्वको तनावले ढुवानी श्रृंखलामा असर गर्दा नेपाली बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो।

उद्योग व्यवसायीका अनुसार नेपालका फिड उद्योगले सोयाबिन मील मुख्यतः भारतबाट आयात गर्छन्। सीमावर्ती खुला व्यापार र छिटो आपूर्तिका कारण भारत नेपाली उद्योगको पहिलो स्रोत हो। त्यसबाहेक माग र उपलब्धताअनुसार अर्जेन्टिना, ब्राजिल र अमेरिकाबाट उत्पादन भएर भारतीय बजार हुँदै वा सीधै तेस्रो मुलुकको आपूर्ति शृंखलामार्फत नेपालमा सोयाबिन तथा सोयामील आउने गरेको छ। अमेरिकी सोयाबिनको प्रयोग नेपालमा बढिरहेको विषयमा यूएस सोय एक्सपोर्ट काउन्सिलले पनि उल्लेख गरेको छ।

यसपटक मूल्य बढ्नुको मुख्य कारण भारतमै देखिएको आपूर्ति संकट हो।भारतमा घरेलु सोयाबिन उत्पादन घटेपछि त्यहाँ सोयामीलको मूल्य एक महिनामै ४० प्रतिशतभन्दा बढीले बढेको छ। भारतले निर्यातका केही सम्झौतासमेत रोक्दै अफ्रिकी देशबाट सोयाबिन आयात गर्न थालेको छ। भारतमै अभाव भएपछि त्यसको असर नेपालमा तत्काल देखिएको व्यवसायीहरू बताउँछन्।

अर्कोतर्फ, मध्यपूर्वमा अमेरिका–इराक सम्बन्धसँग जोडिएको क्षेत्रीय तनाव र विशेषगरी स्ट्रेट अफ होर्मुज वरपरको बढ्दो अस्थिरताले अन्तर्राष्ट्रिय ढुवानी महँगिएको छ। विश्व ऊर्जा आपूर्तिको संवेदनशील मार्ग मानिने यो समुद्री रुटमा कुनै पनि तनाव बढ्दा जहाज भाडा, बीमा शुल्क र ट्रान्जिट लागत बढ्ने भएकाले कृषि कच्चा पदार्थको मूल्यमा पनि दबाब पर्ने गरेको अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूको भनाइ छ। नेपालले ठूलो परिमाणमा अर्जेन्टिना र ब्राजिलबाट कच्चा सोया तेल आयात गर्ने तथ्यांकले समेत बाह्य बजारको असर नेपाली कृषि उद्योगमा छिट्टै पर्ने देखाउँछ।

दाना उद्योगीहरूका अनुसार केही साताअघि प्रतिकिलो करिब रु ७६–८० मा पाइने सोयाबिन मील अहिले रु १३० नाघेको छ। यससँगै मकै, डीओआरबी ,डिओसी र अन्य सहायक कच्चा पदार्थको मूल्यसमेत उकालो लाग्न थालेको छ। करिब दुई महिनाअघि मात्रै दानाको मूल्य प्रतिकिलो रु २ ले बढाइएको थियो। अहिले कच्चा पदार्थको लागत पुनः बढिरहेकाले आगामी दिनमा दानाको मूल्य थप रु १ देखि २ सम्म बढ्ने उच्च सम्भावना रहेको उद्योगीहरूले बताएका छन्।

नेपालमा पोल्ट्री तथा पशुपालन उत्पादनको कुल लागतमा दानाको हिस्सा सबैभन्दा ठूलो हुने भएकाले यो मूल्यवृद्धिले किसानलाई सीधा असर गर्ने देखिएको छ। उद्योगीहरूले चेतावनी दिएका छन्— यदि भारतको आपूर्ति सहज भएन र अन्तर्राष्ट्रिय ढुवानी लागत यही गतिमा बढिरह्यो भने आगामी हप्तामा दानाको मूल्यमा थप दबाब पर्न सक्नेछ। त्यसको असर मासु, अण्डा र दुग्धजन्य उत्पादनको बजार मूल्यमा समेत देखिन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.