भक्तपुर, जेठ २० — भक्तपुरको चाँगुनारायण नगरपालिका–९ मा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कुखुरा व्यवसायीलाई आग्रह गरेको छ।
नगरपालिकाका अनुसार वडा नं. ९ मा मरेका कुखुराको नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच५एन१) अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको हो।
संक्रमण थप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले कुखुरा फार्म तथा खोरमा जैविक सुरक्षा (बायोसेक्युरिटी) का उपायहरू कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेशमा रोक लगाउन, निःसंक्रमणको व्यवस्था गर्न तथा एक फार्ममा काम गर्ने व्यक्तिलाई अर्को फार्ममा नजान आग्रह गरिएको छ।
यस्तै, फार्म परिसरमा कुकुर, बिरालो, मुसा लगायतका जनावर प्रवेश गर्न नदिने, प्रयोग भइसकेका अण्डा राख्ने कार्टुन पुनः प्रयोग नगर्ने तथा खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न पनि सुझाव दिइएको छ।
नगरपालिकाले अस्वाभाविक रूपमा धेरै संख्यामा कुखुरा वा अन्य पन्छी बिरामी परेमा वा मरेमा तत्काल पशुपन्छी सेवा उपशाखा वा नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरेको छ।
वरिष्ठ पशु विकास अधिकृत खडककुमार मैनालीले पन्छीजन्य उत्पादन तथा जीवित पन्छीको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने बताए। साथै फार्ममा काम गर्ने व्यक्तिहरूलाई व्यक्तिगत सुरक्षाका उपाय अपनाउन, नियमित सरसफाइमा ध्यान दिन तथा स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
नगरपालिकाले बर्ड फ्लुको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सबै सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।