AgriVet Sanchar

यो वर्ष खडेरीको सम्भावना बढेपछि : मन्त्रालयद्वारा सुख्खा सहन सक्ने धानका जात प्रयोग गर्न आग्रह

सुख्खा सहन सक्ने धानका जात प्रयोग गर्न आग्रह, पानी व्यवस्थापन र आधुनिक प्रविधिमा जोड

काठमाडौं । आगामी मनसुन अवधिमा अपेक्षाकृत कम वर्षा हुन सक्ने प्रारम्भिक अनुमान सार्वजनिक भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई समयमै तयारी गर्न आग्रह गरेको छ । मन्त्रालयले विशेष गरी धान खेती गर्ने किसानलाई खडेरीको जोखिम न्यूनीकरण गर्न कम पानीमा पनि उत्पादन दिन सक्ने धानका जात प्रयोग गर्न सुझाव दिएको हो ।

मन्त्रालयका अनुसार जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ । वर्षाको अनियमितता, लामो समयसम्म सुख्खा अवस्था रहने सम्भावना तथा सिँचाइ स्रोतमा पर्ने दबाबलाई ध्यानमा राख्दै यस वर्ष खेती प्रणालीमा केही परिवर्तन आवश्यक देखिएको मन्त्रालयको भनाइ छ ।

यसै सन्दर्भमा मन्त्रालयले “सुख्खा–१” देखि “सुख्खा–६” सम्मका धानका जात प्रयोग गर्न किसानलाई सिफारिस गरेको छ । यी जातहरू कम पानीमा पनि उत्पादन कायम राख्न सक्ने तथा खडेरी सहने क्षमतायुक्त भएकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कृषि विज्ञहरूको विश्वास छ ।

मन्त्रालयले किसानलाई परम्परागत खेती प्रणालीमा मात्र निर्भर नहुन पनि आग्रह गरेको छ । वर्षायाममा परेको पानी संरक्षण गर्न खेत नजिक पोखरी निर्माण, आकाशे पानी संकलन तथा सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्न सुझाव दिइएको छ । यसले पानी अभावको समयमा खेती जोगाउन सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

कम पानीमा प्रभावकारी उत्पादन लिन सकिने आधुनिक प्रविधिमा समेत मन्त्रालयले जोड दिएको छ । विशेष गरी पालैपालो भिजाउने–सुकाउने प्रणाली, सघन धान खेती, हिले छरुवा प्रविधि तथा जलवायुमैत्री कृषि अभ्यास अपनाउँदा कम सिँचाइमै उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरिएको छ । कृषि प्राविधिकहरूका अनुसार यस्ता प्रविधिले पानीको बचत मात्र होइन, उत्पादन लागत घटाउन पनि सहयोग पुर्‍याउँछ ।

माटोको चिस्यान जोगाइ राख्न खेतमा ‘छापो’ प्रयोग गर्ने, जमिन सम्याएर पानीको समान वितरण हुने व्यवस्था मिलाउने तथा पानी निकासको उचित प्रबन्ध गर्न पनि मन्त्रालयले किसानलाई आग्रह गरेको छ । कृषि क्षेत्रका जानकारहरूका अनुसार समयमै यस्ता तयारी गर्न सके बदलिँदो मौसमको असर कम गर्न सकिन्छ ।

मन्त्रालयले किसानलाई स्थानीय कृषि प्राविधिक तथा सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै बीउ, मल तथा खेती प्रविधि छनोट गर्न अनुरोध गरेको छ । जलवायु परिवर्तनको चुनौती बढ्दै गएकाले आगामी दिनमा अनुकूलनमुखी खेती प्रणाली अपरिहार्य बन्ने विज्ञहरूको धारणा छ ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.