विराटनगर । पशु तथा पशुजन्य वस्तुको सुरक्षित आयात–निर्यात, सीमा क्षेत्रमा रोग नियन्त्रण तथा पशु स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा पशु क्वारेन्टाइन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पशु क्वारेन्टाइन कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका कार्यालय प्रमुख तथा बरिष्ठ पशु चिकित्सक विदुर गौत्तम ले पशु क्वारेन्टाइन सम्बन्धी ऐन, नियमावली तथा मापदण्डबारे प्रस्तुतीकरण गर्दै सीमा नाकामा कार्यालयले सञ्चालन गरिरहेका गतिविधि र कानुन विपरीत कार्य गर्नेहरूमाथि हुने दण्ड सजायका प्रावधानबारे जानकारी गराउनुभयो। उहाँले पशु स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
त्यसैगरी कार्यालयका पशु चिकित्सक तथा सूचना अधिकारी खिला बोगटी ले जुनोटिक (पशुबाट मानिसमा सर्न सक्ने) रोग सम्बन्धी सन्दर्भ सामग्री प्रस्तुत गर्दै यस्ता रोगको जोखिम न्यूनीकरणका उपाय र सचेतनाको आवश्यकता बारे जानकारी दिनुभयो।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी बिमल कुमार साह ले नेशनल सिंगल विन्डो (NNSW) प्रणालीबारे जानकारी दिँदै आयात–निर्यात प्रक्रियालाई प्रविधिमैत्री, छरितो र व्यवस्थित बनाइएको बताउनुभयो।
यसैबीच सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. रानी विराटनगरका डिएसपी तिलक खड्का ले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रिय निगरानी गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अवैध रूपमा ओसारपसार गरिएका पशु तथा पशुजन्य सामग्रीलाई कानून बमोजिम नियन्त्रण तथा नष्ट गर्ने कार्य निरन्तर भइरहेको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पशु स्वास्थ्य सुरक्षा, सुरक्षित व्यापार प्रणाली र सीमा नाकामा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।