ढाका, जेठ १४— बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ भनेर चिनिने दुर्लभ सेतो (अल्बिनो) भैंसीलाई सरकारले अन्तिम समयमा हस्तक्षेप गर्दै ईद अल-अधाको बलिबाट जोगाएको छ।
करिब ७ सय किलोग्राम तौल रहेको उक्त भैंसी बिहीबार मनाइने ईद अल-अधाका लागि बलि दिन बिक्री भइसकेको थियो। तर सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भएसँगै ठूलो संख्यामा मानिसहरू हेर्न पुग्न थालेपछि सुरक्षा चुनौती देखिएको भन्दै गृह मन्त्रालयले तत्काल निर्णय गरेको हो।
बंगलादेशका गृह मन्त्री सलाहुद्दीन अहमद को निर्देशनपछि खरिदकर्तालाई रकम फिर्ता गरिएको र भैंसीलाई राजधानी ढाका स्थित राष्ट्रिय चिडियाखानामा सारिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार अन्तिम समयमा बढ्दो जनचासो र भीडभाडका कारण सुरक्षा जोखिम देखिएपछि भैंसीलाई बलि नदिने निर्णय गरिएको हो।
फार्म सञ्चालक जियाउद्दिन मृधाले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भैंसीको सुनौलो रौँको गुच्छा देखेर उनका भाइले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग दाँज्दै ‘डोनाल्ड ट्रम्प’ नाम राखेका थिए। त्यसपछि यही नामले उक्त भैंसी सामाजिक सञ्जालमा चर्चित बनेको हो।
मृधाका अनुसार भैंसी स्वभावले निकै शान्त छ र यसलाई विशेष हेरचाह आवश्यक पर्छ। दिनभरि नियमित खाना खुवाउनुका साथै पटक–पटक नुहाइदिनुपर्ने भएकाले यसको पालनपोषण अरूभन्दा फरक रहेको उनले बताए।
बंगलादेशमा अल्बिनो भैंसी निकै दुर्लभ मानिन्छ। सामान्यतया गाढा रंगका गाईवस्तु बढी पाइने देशमा सेतो भैंसी देखिनु नै असाधारण हो। त्यसमा पनि ‘डोनाल्ड ट्रम्प’ उपनाम र अनौठो स्वरूपका कारण यो यस वर्षको ईद बजारमा सबैभन्दा चर्चित पशु बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ईद अल-अधामा मुस्लिम समुदायले पशु बलि दिएर मासु परिवार, आफन्त र विपन्न वर्गसँग बाँड्ने परम्परा रहँदै आएको छ। तर यस पटक बंगलादेशमा एउटा दुर्लभ भैंसीको लोकप्रियताले त्यसको भाग्य नै बदलिएको छ।