कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा दुग्ध क्षेत्रलाई अझ व्यवस्थित र व्यवसायिक रूपमा विस्तार गर्न सकिए राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताएकी छन्। विश्व दूध दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुग्ध क्षेत्रले पोषण, रोजगारी, ग्रामीण आयआर्जन र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरिन्।
“दिगो दुग्ध विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा मन्त्री चौधरीले दूध दिवस केवल औपचारिक कार्यक्रममा सीमित नरही दुग्ध क्षेत्रको बहुआयामिक महत्वबारे सोच्ने अवसर भएको बताइन्। उनका अनुसार दूध र दूधजन्य उत्पादनले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष योगदान पुर्याउनुका साथै ग्रामीण जीवनस्तर सुधारमा समेत प्रभाव पारिरहेको छ।
मन्त्री चौधरीले नेपालका धेरै कृषक परिवारको मुख्य आम्दानीको स्रोत दुग्ध व्यवसाय बनेको उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन भइरहेको जानकारी दिइन्। यसबाट हरेक दिन करिब साढे सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको उनको भनाइ थियो।
उनले यो क्षेत्रले साना किसान, महिला उद्यमी, युवाशक्ति तथा सहकारीमार्फत संगठित समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन उल्लेखनीय भूमिका खेलेको बताइन्। घरायसी प्रयोगमा खपत हुने दूध, दही, घिउ, मोही र पनिरजस्ता परिकारले खाद्य तथा पोषण सुरक्षामा अझै महत्वपूर्ण योगदान दिइरहेको उनले उल्लेख गरिन्।
उनका अनुसार आधुनिक प्रविधि, पशु स्वास्थ्य सेवा र बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिए दुग्ध क्षेत्रले अझ ठूलो सम्भावना बोकेको छ। ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र कृषिमा आधारित रोजगारी बढाउन पनि दुग्ध व्यवसाय प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा थियो।
हाल नेपालमा दुग्ध उत्पादनले कृषि क्षेत्रको महत्वपूर्ण हिस्सा ओगटिरहेको छ। सम्बन्धित निकायहरूले किसानलाई सहज पहुँच, प्रोत्साहन र आवश्यक पूर्वाधार उपलब्ध गराउन सके दुग्ध क्षेत्र आगामी दिनमा राष्ट्रिय अर्थतन्त्रको अझ सशक्त आधार बन्ने अपेक्षा गरिएको छ।