AgriVet Sanchar

केराको भाउ आकासियो: सात महिनामै ८७% वृद्धि, उपभोक्ता मारमा

काठमाडौं — नेपाली बजारमा सामान्यतया सस्तो र सहज रूपमा पाइने केरा अहिले उपभोक्ताका लागि महँगो विलासिताजस्तै बन्न थालेको छ। पछिल्लो सात महिनामा यसको मूल्यमा झण्डै ८७ प्रतिशतको चर्को वृद्धि भएपछि बजारमा हलचल मच्चिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति को तथ्यांकअनुसार गत भदौमा प्रति दर्जन १२० रुपैयाँभन्दा कममा पाइने केरा अहिले थोकमै २२५ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा भने मूल्य अझै चर्को—प्रति दर्जन ३०० देखि ३५० रुपैयाँसम्म पुगेको देखिन्छ।

असोजमा स्थिर देखिएको मूल्य कार्तिकदेखि विस्तारै उकालो लाग्न थालेको थियो। मंसिरमा एकाएक उछाल देखिएपछि केही समय घटेको मूल्य फागुनपछि पुनः तीव्र गतिमा बढ्दै चैत अन्त्यसम्म आइपुग्दा नयाँ रेकर्ड कायम गरेको छ।

बजार विश्लेषकहरूका अनुसार यस्तो उतारचढावले बजार असन्तुलित भएको संकेत गर्छ।

मुख्य कारण भनेको माग र आपूर्तिबीचको गम्भीर असन्तुलन हो। गर्मी बढेसँगै फलफूलको माग ह्वात्तै बढेको छ, तर बजारमा पर्याप्त केरा भित्रिन सकेको छैन।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ का अध्यक्ष भरत खतिवडा भन्छन्, “आन्तरिक उत्पादनले बजारको माग धान्न सकेको छैन। आयातमा प्रतिबन्ध लागेपछि अभाव झन् चर्किएको छ।”

नेपालमा वार्षिक रूपमा करिब ६० हजार मेट्रिक टन केराको माग र उत्पादनबीच अन्तर रहेको अनुमान छ।

सरकारले केरा आयातमा प्रतिबन्ध लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र का अनुसार फिजारियम र अक्सिस्पोरिय जस्ता घातक रोगबाट स्वदेशी केरा खेती जोगाउन यस्तो निर्णय गरिएको हो।

तर यसको प्रत्यक्ष असर भने उपभोक्तामाथि परेको छ। बजारमा अभाव भएपछि एउटा केराको कोसा नै ३० रुपैयाँसम्म पुगेको छ।

प्रतिबन्धका बाबजुद सीमावर्ती क्षेत्रबाट अवैध रूपमा केरा भित्रिने क्रम जारी रहेको व्यवसायीहरूको भनाइ छ। यस्ता केरालाई “नेपाली उत्पादन” भनेर बिक्री गरिँदा बजार झन् अपारदर्शी बनेको छ।

उपभोक्ता संरक्षण मञ्च नेपाल का उपाध्यक्ष सुवर्णप्रभा गुरागाईं भन्छिन्, “फलफूलजस्तो आधारभूत खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सीमित आम्दानी भएका उपभोक्ता सबैभन्दा बढी प्रभावित हुन्छन्।”

उनले सरकारलाई बजार नियमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता संरक्षणमा ध्यान दिन आग्रह गरेकी छन्।

व्यवसायीहरूले आयात र आन्तरिक उत्पादनबीच सन्तुलन मिलाउने नीति आवश्यक रहेको बताएका छन्। तर सरकार भने रोग नियन्त्रणलाई प्राथमिकता दिँदै आयात खुला गर्ने पक्षमा तत्काल देखिँदैन।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.