ताप्लेजुङ। तराईका जिल्लाहरूमा बर्डफ्लु संक्रमण फैलिएको खबरसँगै ताप्लेजुङ प्रशासन उच्च सतर्कतामा गएको छ। सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न जिल्लामा अनुगमन र परीक्षणको प्रक्रिया तीव्र पारिएको छ।
शनिबार फुङलिङ बजार क्षेत्रमा पशु तथा पन्छी जन्य वस्तुको कारोबार गर्ने हाटबजार लगायत आसपासका पसलहरूमा अनुगमन गरिएको छ, सो क्रममा १९ वटा मासु पसलबाट विभिन्न नमूना संकलन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ का प्रमुख डा. रोशन दाहालले एग्रिभेट सञ्चारलाई जानकारी गराउँदै भने “संकलित नमूनाहरू प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ, जसबाट संक्रमणको अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ”
तस्बिर: नमूना संकलन गर्दै डा. रोशन दाहाल
जिल्ला प्रशासनका अनुसार परीक्षणको नतिजा आएपछि मात्र आवश्यक कदम चालिनेछ हालको अवस्था हेर्दा सम्भावित जोखिमलाई नजरअन्दाज नगरी पूर्वतयारीमा जोड दिइएको छ।
यसअघि बसेको जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले तराईका झापा, मोरङ र सुनसरीमा देखिएको संक्रमणलाई मध्यनजर गर्दै ताप्लेजुङमा त्यसको प्रवेश रोक्न विशेष रणनीति तय गरेको थियो। सोही निर्णयअनुसार जिल्लामा भित्रिने पक्षी तथा पक्षीजन्य सामग्रीमाथि कडा निगरानी राख्ने व्यवस्था गरेको छ।
प्रशासनले ती प्रभावित जिल्लाबाट कुनै पनि प्रकारका पशु तथा पन्छी जन्य वस्तु भित्र्याउन अस्थायी रूपमा रोक लगाएको छ। साथै, चेकपोइन्टहरूमा निगरानी बढाएको छ र नियम उल्लङ्घन गरी ल्याइएका सामग्री फेला परे तत्काल नष्ट गर्ने चेतावनी दिएको छ।
स्थानीय निकाय र सरोकारवाला निकायहरूबीच समन्वय गर्दै सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्ने प्रयास भइरहेको छ। यो अभियानले ताप्लेजुङलाई बर्डफ्लु संक्रमणबाट जोगाउने विश्वास गरिएको छ।
-मनोज मण्डल