AgriVet Sanchar

बर्डफ्लुको आतङ्क:१ लाख ३० हजारभन्दा बढी पक्षी नष्ट, जोखिम अझै कायम

नेपालमा बर्डफ्लु  संक्रमणले  फेरि ठूलो चुनौती थपेको छ। पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लामा फैलिएको यो रोगका कारण ठूलो क्षति भएको छ भने नियन्त्रणका प्रयास जारी छन्।

चालु आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी क्षेत्रमा संक्रमण पुष्टि भएको थियो। त्यसयता रोग फैलिँदै जाँदा हालसम्म कम्तीमा ३३ वटा कुखुरा फार्म प्रभावित भएका छन्। संक्रमण नियन्त्रण गर्न सम्बन्धित निकायहरूले स्रोतमा नियन्त्रण, निगरानी र समन्वयात्मक प्रयासलाई तीव्र बनाएका छन्।

पशु सेवा विभागको रिपोर्ट अनुसार बर्डफ्लुका कारण १ लाख ३० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। साथै, करिब २ लाख ३७ हजार अण्डा र ३३ हजार किलोभन्दा बढी दाना पनि नष्ट गरिएको छ। प्रभावित जिल्लाहरूमा सुनसरी, मोरङ, झापा, चितवन, बारा र नवलपरासी पश्चिम रहेका छन्, जहाँ संक्रमणको प्रभाव फरक–फरक मात्रामा देखिएको छ।

विशेष गरी तराईका जिल्लाहरूमा संक्रमण बढी देखिएको छ। ती क्षेत्रमा कुखुरा पालन व्यवसायमा ठूलो असर परेको छ भने किसानहरू आर्थिक रूपमा प्रभावित भएका छन्।

सम्बन्धित निकायहरूले गरेको अध्ययनले केही प्रमुख जोखिम कारकहरू औँल्याएको छ। जैविक सुरक्षामा कमजोरी ,जलाशय नजिक फार्म हुनु, सवारीसाधन तथा मानिसको अनियन्त्रित आवतजावत, अण्डाको क्रेट पुनः प्रयोग गर्दा उचित सरसफाइ नगर्नु, र सुरक्षात्मक उपाय बिना जीवित पक्षी तथा मासु सम्हाल्नु जस्ता कारणले संक्रमण फैलन सहयोग पुगेको देखिएको छ।

हाल रोग नियन्त्रणका लागि नियमित निगरानी, संक्रमित क्षेत्रमा नियन्त्रण, सरसफाइ तथा डिसइन्फेक्सनको काम भइरहेको सम्बन्धित निकायले जनाएको छ। बर्डफ्लु नियन्त्रण निर्देशिका अनुसार आवश्यक कदमहरू अघि बढाइएको छ भने थप फैलावट रोक्न उच्च सतर्कता अपनाइएको छ।

सरकारले किसान तथा सरोकारवालालाई जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरेको छ। साथै, कुनै पनि शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.