कोशी प्रदेशअन्तर्गत सुनसरी र मोरङ जिल्लामा बर्डफ्लु फैलिन थालेपछि दुई ठूला पोल्ट्री फार्मका करिब २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ। सुनसरीको रामधुनीस्थित ‘सुनसरी पोल्ट्री फार्म’ मा रहेका करिब १ लाख ५५ हजार र मोरङको बूढीगंगामा रहेका ७२ हजार कुखुरा मार्न ठूलो संख्यामा जनशक्ति र डोजर प्रयोग गरिएको छ। यो घटनालाई प्रदेशकै हालसम्मकै ठूलो क्षतिको रूपमा हेरिएको छ।
संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले प्रभावित क्षेत्र सिल गरी कुखुराजन्य वस्तुको ओसारपसारमा कडाइ गरेको छ। अर्बौंको लगानी जोखिममा परेपछि किसानहरू चिन्तित छन्। सरकारले ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरे पनि यसको कार्यान्वयन ढिलो हुन सक्ने आशंका गरिएको छ।