AgriVet Sanchar

कास्कीका दुग्ध किसानलाई दुई करोड २० लाख प्रोत्साहन अनुदान

कास्की — दूध उत्पादनलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कास्कीका किसानलाई गत आर्थिक वर्षमा दुई करोड २० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई प्रतिलिटर पाँच रुपैयाँका दरले सहकारी संस्थामार्फत अनुदान उपलब्ध गराइएको हो।

गत आर्थिक वर्षमा जिल्लामा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। लक्ष्यअनुसार नै दूध उत्पादन भएपछि प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहन रकम वितरण गरिएको कार्यालय प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए।

कार्यक्रमका लागि विनियोजित दुई करोड २० लाख रुपैयाँ नै खर्च भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कार्यक्रमको वित्तीय प्रगति शतप्रतिशत रहेको छ।

डा. न्यौपानेका अनुसार किसानलाई दूध उत्पादन बढाउन मात्र नभई उत्पादनलाई औपचारिक बजारसम्म पुर्‍याउन प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। उत्पादनको आधारमा अनुदान दिँदा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्ने उनको भनाइ छ।

८ हजारभन्दा बढी किसान दूध सङ्कलन प्रणालीमा

कास्कीमा हाल २७ वटा दूध सङ्कलन संस्था तथा केन्द्रमार्फत दूध बजारमा जाने गरेको छ। कार्यालयको तथ्यांकअनुसार ती केन्द्रबाट वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन हुने गरेको छ।

दूध सङ्कलन प्रणालीमा जिल्लाका ८ हजार ५० जना किसान आबद्ध छन्। उत्पादनका आधारमा प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमले किसानलाई नियमित रूपमा दूध उत्पादन गर्न र औपचारिक बजारसँग जोडिन सहयोग पुगेको कार्यालयको निष्कर्ष छ।

पाडीबाच्छी हुर्काउन पनि प्रोत्साहन

दूध उत्पादन बढाउने अर्को उपायका रूपमा कार्यालयले पाडीबाच्छी हुर्काउने कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ।

गत आर्थिक वर्षमा ३५० वटा पाडीबाच्छी हुर्काउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ४५४ वटा हुर्काइएको कार्यालयले जनाएको छ। यस कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।

कार्यालय प्रमुख न्यौपानेका अनुसार हुर्काइएका पाडीबाच्छी माउ बन्न योग्य भएपछि आगामी दिनमा जिल्लाको दूध उत्पादनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ। यस कार्यक्रमबाट करिब १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुन सक्ने अनुमान गरिएको छ।

कार्यक्रमअन्तर्गत ९९ वटा कोरली पाडी र ३५५ वटा कोरली बाच्छी हुर्किएर प्रजननका लागि योग्य बनेका छन्।

चालु आर्थिक वर्षमा पनि कार्यक्रम निरन्तर

कास्कीमा गाई तथा भैँसीपालनमा निर्भर परिवारको संख्या ठूलो रहेकाले दूध उत्पादनलाई पशुपालन क्षेत्रको प्रमुख व्यावसायिक गतिविधिका रूपमा लिइएको छ।

कार्यालयका अनुसार जिल्लामा पशुपालनमा संलग्न परिवारको संख्या ५२ हजार ३२३ रहेको छ। यही कारण किसानलाई उत्पादनसँग जोडेर प्रोत्साहन गर्ने कार्यक्रमलाई चालु आर्थिक वर्ष २०८३/८४ मा पनि निरन्तरता दिइएको छ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार उत्पादनमा आधारित प्रोत्साहनले किसानको आम्दानी बढाउनुका साथै जिल्लालाई दूध उत्पादनमा थप आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। उत्पादन बढाउने, किसानलाई बजारसँग जोड्ने र व्यावसायिक पशुपालन विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.