मुस्ताङ जिल्लाका तीन गाउँपालिका—बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङमा पछिल्ला चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधन नष्ट भएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार हिउँ चितुवा, चितुवा र ब्वाँसोले याक, चौँरी, भेडाच्याङ्ग्रा लगायतका पशुमा आक्रमण गरेका हुन्।
एक्याप प्रमुख राजेश गुप्ताका अनुसार प्रभावित ६८ घरधुरीका पशुधनमध्ये १२ याक, ७ चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेडाबाख्रा, २ खच्चड र ८ घोडा मरेका छन्। अन्य पशुधनमा पनि क्षति पुगेको कार्यालयले जनाएको छ।
आर्थिक वर्षगत विवरण अनुसार २०७९/८० मा ३१ वटा, २०८०/८१ मा ५६ वटा, २०८१/८२ मा ८६ वटा तथा चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधन क्षति भएको देखिन्छ।
कृषि, पशुपालन र पर्यटनमा निर्भर मुस्ताङमा परम्परागत पशुपालन नै मुख्य जीविकोपार्जन हो। तर पछिल्ला वर्षहरूमा उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको जोखिम बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। मानव–वन्यजन्तु द्वन्द्व बढेसँगै याकचौँरी तथा भेडाच्याङ्ग्रा पालन व्यवसाय असुरक्षित बन्दै गएको स्थानीयहरूको भनाइ छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘वन्यजन्तु क्षति राहत निर्देशिका, २०८०’ अनुसार एक्यापले पीडित किसानलाई राहत वितरण गर्दै आएको छ। निर्देशिकाअनुसार याक, चौँरी, घोडा र खच्चडको क्षतिमा अधिकतम ६० हजार रुपैयाँ तथा भेडाच्याङ्ग्राको क्षतिमा अधिकतम १० हजार रुपैयाँसम्म राहत दिइन्छ।
एक्याप जोमसोम कार्यालयले पछिल्ला चार आर्थिक वर्षमा २५ लाख २१ हजार रुपैयाँ राहत वितरण गरिसकेको छ भने चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै ५ लाख २९ हजार रुपैयाँ किसानका बैंक खातामा जम्मा गरिएको छ।
त्यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङस्थित एक्याप कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा वन्यजन्तुबाट प्रभावित किसानलाई ४५ लाख ९९ हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ।
एक्यापका अनुसार जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र घट्नु र वन्यजन्तु बस्ती नजिक आउनु मानव–वन्यजन्तु द्वन्द्व बढ्नुको मुख्य कारण हो। साथै कमजोर गोठ तथा खोर संरचनाले पनि पशुधन क्षति बढाइरहेको बताइएको छ।