चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र वन्यजन्तु व्यवस्थापनका विविध पक्षबारे स्थलगत निरीक्षण तथा छलफल गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा चितवन पुगेकी मन्त्री चौधरीले निकुञ्जका अधिकारीहरूसँग भेट गर्दै वन्यजन्तु संरक्षण, वैज्ञानिक अनुसन्धान, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन तथा स्थानीय समुदायसँग सहअस्तित्व कायम गर्ने उपायबारे जानकारी लिएकी हुन्। उनले वन्यजन्तु संरक्षणसँगै स्थानीयको सुरक्षा सुनिश्चित गर्ने नीति र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्।
भ्रमणका क्रममा मन्त्री चौधरीले भरतपुर महानगरपालिका–देवनगरमा प्रस्ताव गरिएको ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको अवलोकन समेत गरिन्। हाल देशका विभिन्न स्थानमा समस्याग्रस्त बाघलाई छुट्टाछुट्टै इन्क्लोजरमा राख्नुपर्दा व्यवस्थापन खर्च बढ्दै गएको अवस्थामा सरकारले करिब ५० हेक्टर क्षेत्रफलमा आधुनिक टाइगर सेन्चुरी निर्माण गर्ने तयारी अघि बढाएको छ।
मन्त्री चौधरीले यस्तो सेन्चुरी निर्माण भएपछि घाइते तथा समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरणमै संरक्षण गर्न सहज हुने र यसले पर्यापर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनले निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक तयारीबारे निकुञ्ज प्रशासनसँग छलफल पनि गरिन्।
त्यसैगरी, उनले खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पुगेर केन्द्रको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे जानकारी लिइन्। तीन दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको उक्त केन्द्रले हालसम्म ६८ वटा हात्तीका छावा जन्माएर संरक्षण अभियानमा उल्लेखनीय योगदान दिएको छ। मन्त्री चौधरीले हात्तीको स्वास्थ्य, आहारा व्यवस्थापन तथा प्रजनन कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा सरोकारवालासँग छलफल गरिन्।
चितवन राष्ट्रिय निकुञ्ज परिसरमै रहेको घडियाल प्रजनन केन्द्रको निरीक्षण गर्दै उनले दुर्लभ घडियाल गोहीको संरक्षणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रशंसा गरिन्। नदी प्रणालीको पारिस्थितिकीय सन्तुलन कायम राख्न घडियाल संरक्षण महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
यसैबीच, टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनमा कृष्णसार स्थानान्तरणको अन्तिम तयारीको पनि मन्त्री नेतृत्वको टोलीले निरीक्षण गरेको छ। संरक्षण र पर्यापर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले कृष्णसार ल्याउने तयारी भइरहेका बेला मन्त्री चौधरीले सुरक्षित बासस्थान र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।
भ्रमणकै क्रममा टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गर्दै उनले वन रक्षकको दक्षता अभिवृद्धि, आधुनिक तालिम प्रणालीको विकास तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणका लागि आवश्यक पूर्वाधार सुदृढ गर्नुपर्नेमा जोड दिइन्।
वैज्ञानिक अनुसन्धानलाई संरक्षण नीतिसँग जोड्ने उद्देश्यले मन्त्री चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित वन्यजन्तु जेनोमिक प्रयोगशालाको समेत अवलोकन गरिन्। प्रयोगशालामा भइरहेका आनुवंशिक अध्ययन र अनुसन्धानले प्रमाणमा आधारित संरक्षण नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन्।
भ्रमणका क्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, डिभिजन वन कार्यालय चितवनका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवलगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। स्थानीय समुदायसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत, उद्धार, दीर्घकालीन पूर्वाधार विकास तथा समुदायमा आधारित संरक्षण कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता दोहोर्याइन्।