काठमाडौं । कृषिमा आधारित टेलिभिजन कार्यक्रमको सूचीमा नयाँ प्रयोग थपिँदै पशुपालक किसानको दैनिक अभ्यासलाई केन्द्रमा राखेको रियालिटी शो ‘दूध’ सार्वजनिक हुने भएको छ।
चितवन जिल्लाको भरतपुर क्षेत्रभित्र सहकारी प्रणालीमार्फत दूध आपूर्ति गर्दै आएका अनुभवी पशुपालकहरूमध्येबाट २० जना किसान छनोट गरी प्रतियोगिता सञ्चालन गरिएको हो।
कार्यक्रमका निर्माता रविन सुवेदीका अनुसार यो शो सामान्य प्रतिस्पर्धा नभई किसानको समग्र व्यवस्थापन क्षमता परीक्षण गर्ने प्लेटफर्म हुनेछ। दूध दुहुने तरिका, पशुसँगको व्यवहारिक सम्बन्ध, पोषण व्यवस्थापन, गोठ व्यवस्थापनदेखि दूधको स्वच्छतासम्मका पक्षलाई निर्णायक आधार बनाइने उनले स्पष्ट पारे।
दूध उत्पादनमा अग्रणी चितवनले पशुपालनमार्फत आर्थिक समृद्धि हासिल गरेका थुप्रै उदाहरण बोकेको जिल्ला भएको उल्लेख गर्दै सुवेदीले भने, “यहाँका किसानले पशुपालनलाई व्यवसायका रूपमा स्थापित गर्दै आफ्नो जीवनस्तर मात्र होइन, परिवारको भविष्यसमेत सुरक्षित गरेका छन्। यस्ता मेहनती किसानको कथालाई राष्ट्रिय स्तरमा चिनाउन यो कार्यक्रम ल्याइएको हो।”
पहिलो सिजनको अनुभवका आधारमा कार्यक्रमलाई थप परिमार्जन गर्दै नयाँ स्वरूपमा निरन्तरता दिने तयारीसमेत भइरहेको जानकारी दिइएको छ। युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रमलाई कथात्मक र प्रतिस्पर्धात्मक शैलीमा प्रस्तुत गरिने बताइएको छ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई समाजमा सम्मानित पहिचान दिलाउने लक्ष्यसहित शो तयार गरिएको बताए। “एकै प्रकारका कृषि कार्यक्रमले दर्शक थाकिरहेका बेला फरक सोच र फरक प्रस्तुति आवश्यक थियो,” उनले भने, “किसानकै घरआँगनमा पुगेर गरिने मूल्याङ्कनले प्रतिस्पर्धासँगै सहकार्य र सिकाइको वातावरण पनि सिर्जना गर्छ।”
खेतीको मुख्य सहकार्यमा निर्माण भएको यस कार्यक्रमको प्रवर्द्धन भरतपुर महानगरपालिकाले गरेको हो।
शोको निर्णायक टोलीमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थशास्त्री तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहनेछन्।