AgriVet Sanchar

सुँगुरपालनमा अफ्रिकन स्वाइन फिभरको त्रास : खोप नहुँदा सतर्क रहन किसानलाई अनुरोध

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर र बंगुरमा देखिन सक्ने अफ्रिकन स्वाइन फिभर (ASF) को सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानहरूलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हालसम्म यस रोगविरुद्ध कुनै प्रभावकारी खोप उपलब्ध नभएकाले सुँगुर तथा बंगुर पालन गर्ने फार्महरूमा कडाइका साथ जैविक सुरक्षा उपाय अपनाउनु आवश्यक छ।

यदि सुँगुर वा बंगुर अस्वाभाविक रूपमा मरेको अवस्थामा देखिएमा तुरुन्तै संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र तथा सम्बन्धित निकायलाई जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ। अफ्रिकन स्वाइन फिभर भाइरसका कारण घरेलु सुँगुर, बंगुर तथा जंगली बँदेलमा संक्रमण हुन सक्छ। संक्रमित पशुमा १०४ देखि १०७ डिग्रीसम्म ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो देखिने जस्ता लक्षण देखा पर्छन्। साथै, शरीरमा नीलो धब्बा देखिनु, खाना नखानु, बान्ता गर्नु र बेचैन भएर छटपटाउनु पनि यस रोगका सामान्य संकेत हुन्।

यद्यपि यस रोगले पशुमा उच्च मृत्युदर निम्त्याउने भए पनि मानिसमा भने सर्दैन, कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितले स्पष्ट पारे। उनका अनुसार केन्द्रले रोगको फैलावट रोक्न किसानहरूलाई सचेत गराउने उद्देश्यले सूचना तथा चेतनामूलक सन्देशहरू प्रसारण गरिरहेको छ।

संक्रमित सुँगुर, बंगुर वा तिनका पाठापाठीसँग सम्पर्कमा आएका पशु वा मासुजन्य सामग्री एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा रोग फैलिने सम्भावना उच्च हुने भएकाले सबै सरोकारवालालाई अत्यधिक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.