नेपाल दाना उद्योग संघले हिजो मिति २०८२–१२–११ गतेदेखि प्रति किलो दानामा रु २ वृद्धि गरेको जानकारी दिएको छ। अहिले विश्वभर देखिएको युद्ध र आर्थिक अस्थिरताको असर नेपालसम्म आइपुगेको भन्दै दानाको मूल्य बढाइएको जनाइएको छ। कच्चा पदार्थ, पेट्रोल, तेल लगायतका धेरै सामग्रीको मूल्य बढ्दै जाँदा दाना उद्योग पनि त्यसको प्रभावबाट बच्न नसकेको दाना संघका पदाधिकारीहरूले बताएका छन्।
नेपालमा मकै जस्ता केही कच्चा पदार्थ स्वदेशमै उत्पादन भए पनि माग धान्न नसक्ने भएकाले यसमा पनि विदेशमै निर्भर हुनुपर्ने अवस्था छ। त्यस्तै सोया, मेथियोनिन, लाइसिन लगायत धेरै महत्वपूर्ण कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको सिधा असर नेपालमा पर्ने गरेको छ।आजको विश्व परिस्थिति हेर्दा शक्तिशाली देशहरूबीचको द्वन्द्व र राजनीतिक खिचातानीले पूरै विश्व अर्थतन्त्र नै प्रभावित भएको छ।यस्तो अवस्था कतिन्जेल रहन्छ र भोलि फेरि मूल्य बढ्दैन भनेर अहिले नै भन्न सकिने स्थिति पनि छैन।
तर यी सबै परिस्थितिको सबैभन्दा ठूलो मार भने किसानहरूले नै खेपिरहेका छन्। कच्चा पदार्थ महँगिँदै जाँदा दानाको मूल्य बढिरहेको छ, जसले उत्पादन लागत थप बढाइरहेको छ। त्यसमाथि बर्ड फ्लु जस्ता रोगका कारण कुखुरा जोगाउन नै किसानहरूलाई गाह्रो भइरहेको अवस्था छ। अर्को तर्फ बजारमा मासुको खपत घट्दै जाँदा उत्पादन गरेको कुखुरा बेच्न पनि चुनौतीपूर्ण बन्दै गएको छ। यी सबै कारणले अहिले धेरै किसानहरू आर्थिक रूपमा निकै दबाब र कठिन अवस्थामा परेका छन्।