१३ असार, गुल्मी। नेपालमा व्यावसायिक कफीखेतीको सुरुआत भएको जिल्ला गुल्मीका कफी किसान यतिबेला बढ्दो रोग–कीराको प्रकोपका कारण समस्यामा परेका छन्। विशेषगरी कफीका बोटमा फैलिएको ‘सेतो गवारो’को सङ्क्रमणले उत्पादनमा गम्भीर असर पारेपछि किसानहरू वर्षौंदेखिको मेहनत खेर जाने चिन्तामा छन्।
रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाकी कफी किसान माया भट्टराईका अनुसार वर्षौंदेखि हुर्काएका कफीका बोटहरू रोगका कारण काट्नुपर्ने अवस्था आएको छ। फल दिन थालेका बोट नै नष्ट भएपछि कफीखेतीको भविष्यप्रति अन्योल बढ्दै गएको उनी बताउँछिन्।
यस्तै अवस्था अर्घाखाँची र प्यूठानका किसानले पनि भोगिरहेका छन्। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का किसान हरिलाल पौडेलले सेतो गवारोका कारण उत्पादन दिने तयारीमा रहेका कफीका बोट नै काट्नुपरेको बताए। उनका अनुसार यसले किसानको लगानी डुब्नुका साथै कफी उत्पादनप्रतिको उत्साहसमेत घटाउन थालेको छ।
कफी उत्पादनका लागि परिचित गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती विस्तार भए पनि किसानले रोग–कीराको बढ्दो प्रकोपसँगै गुणस्तरीय बिरुवाको अभाव, प्राविधिक सेवामा पहुँच नहुनु, सिँचाइको समस्या तथा बजार व्यवस्थापनजस्ता चुनौती एकैसाथ सामना गरिरहेका छन्।
यिनै समस्यालाई केन्द्रमा राख्दै कफी विकास केन्द्र आँपचौर, गुल्मीले कफी उत्पादक, सहकारी संस्था तथा निर्यातकर्तासँग छलफल कार्यक्रम आयोजना गरेको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गुल्मी, अर्घाखाँची र प्यूठानका अग्रणी कफी किसान सहभागी भएका थिए।
कार्यक्रममा किसानहरूले अहिले सबैभन्दा गम्भीर समस्या सेतो गवारो रहेको बताएका छन्। यसका अतिरिक्त हिउँदमा कफीका बेर्ना सुक्ने, कमजोर गुणस्तरका बीउका कारण बिरुवा राम्रोसँग नहुर्किने, पातमा रोग लाग्ने तथा आधुनिक खेतीसम्बन्धी प्राविधिक ज्ञानको अभावले उत्पादन घट्दै गएको उनीहरूको भनाइ थियो।
सहभागी किसानले पर्याप्त छहारी र सिँचाइको अभावले पनि कफीखेती थप जोखिममा परेको बताए। उनीहरूका अनुसार बजारमा मूल्य निर्धारणको स्पष्ट प्रणाली नहुँदा उत्पादित कफीले उचित मूल्यसमेत पाउन सकेको छैन, जसले किसानलाई आर्थिक रूपमा थप मारमा पारेको छ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख नवराज पण्डित, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ बागवानी अधिकृत राहुल पाण्डे, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल तथा जिल्ला सहकारी सङ्घ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले किसानका गुनासा सुन्दै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताएका थिए।
उनीहरूले कफी क्षेत्रको दिगो विकासका लागि रोग तथा कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन, किसानलाई नियमित प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ, बजारीकरण र निर्यातसम्मको शृङ्खलालाई व्यवस्थित बनाउन किसान, सहकारी, स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा हाल एक हजार ८०० भन्दा बढी किसान व्यावसायिक कफीखेतीमा आबद्ध छन्। तर रोग–कीराको बढ्दो प्रकोप, उत्पादन लागत वृद्धि र बजारका चुनौती समयमै समाधान गर्न नसकिए कफीखेतीप्रतिको किसानको आकर्षण क्रमशः घट्न सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।