बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विगत १७ महिना देखि चिकित्सकविहीन रहँदा स्थानीय पशुपालक किसानहरू समस्यामा परेका छन्।
केन्द्र प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक नहुँदा पशुहरूको उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। करारमा कार्यरत चिकित्सकले पद त्यागेपछि केन्द्रमा हालसम्म नयाँ चिकित्सक नियुक्त हुन सकेको छैन।
यद्यपि केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहेको छ, सुदूरपश्चिम प्रदेश सरकारले उक्त पदमा पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा अवरोध आएको छ। सरकारको ढिलासुस्ती र प्रभावकारी जनशक्ति व्यवस्थापनको अभाव, दरबन्दी हुँदाहुँदै लामो समयसम्म पदपूर्ति नगर्नु,अभावले समस्या झनै जटिल बनेको छ।
यसको प्रत्यक्ष असर स्थानीय किसानमा परेको छ। सामान्य उपचारदेखि गम्भीर अवस्थाका पशुहरूलाई समेत धनगढी जस्ता टाढाका स्थानबाट चिकित्सक बोलाउनुपर्ने बाध्यता रहेको छ, जसले समय, लागत र जोखिम सबै बढाएको पन्तले जानकारी दिए।