सङ्घीय सरकारकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्ति सहज हुँदै गएको बताउनुभएको छ ।
शनिबार धनुषामा सञ्चिालित विभिन्न राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाको निरीक्षणका क्रममा उहाँले यस वर्ष अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्तिमा केही असर परेको बताउँदै हाल विभिन्न नाकाबाट प्रयाप्त रासायनिक मल नेपाल भित्रिरहेको बताउनुभयो । मन्त्री चौधरीले मौजुदा मल पनि किसानसम्म पठाउने काम भइरहेको बताउँदै यो महिनाको १५ गतेभित्र मल आपूर्ति धेरै सहज हुने जानकारी दिनुभयो ।
यस्तै, लक्ष्मिनियामा किसानसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले रासायनिक मल तथा बिषादी औषधिमाथि निर्भरता कम गर्दै प्राङ्गारिक मलको प्रयोग बढाउन जोड दिनुभयो ।
माटोको उर्वराशक्ति, वातावरण र मानव स्वास्थ्य जोगाउन प्राङ्गारिक मलको प्रयोगलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण खेतबारीको जैविक विविधता नष्ट हुँदै गएको उल्लेख गर्दै विगतमा खेतमा पाइने माछा तथा अन्य जीवजन्तु अहिले हराउँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले खाने अन्नसँगै विषादी पनि खाइरहेका छौँ त्यसैले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्न अभियान चलाउन आवश्यक छ ।”
किसानले प्राङ्गारिक खेती विस्तार गर्न चाहेको अवस्थामा सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना, प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँले आयोजनाका कार्यक्रमको प्रभावकारिता, किसानले पाएको लाभ तथा दीर्घकालीन रूपमा सुधारका सम्भावनाबारे बुझ्न आफु यता आएको बताउनुभयो ।
मन्त्री चौधरीले सिँचाइ र कृषि कार्यक्रमलाई संयुक्त रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग छलफल भएको बताउनुभयो । उहाँका अनुसार जहाँ सिँचाइ आयोजना सञ्चालन हुन्छ, त्यहाँ कृषि मन्त्रालयको प्राविधिक सेवा पनि सँगै उपलब्ध गराउने गरी योजना बनाइएको छ ।
उहाँले आवश्यकता र प्राविधिक मूल्याङ्कनका आधारमा मात्रै सिँचाइ तथा कृषि पूर्वाधार निर्माण गरिने बताउँदै यसले दीर्घकालीन रूपमा किसानलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । चुरे संरक्षण तथा जल पुनर्भरणका कार्यक्रम पनि वैज्ञानिक अध्ययनका आधारमा अघि बढाइने मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले चुरे क्षेत्रका बजेट विज्ञको प्राविधिक मूल्याङ्कनका आधारमा विनियोजन गरिएको उल्लेख गर्दै जल पुनर्भरण हुने क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
मन्त्री चौधरीले जिल्लाको लक्ष्मिनियामा सञ्चालित कृषि यान्त्रीकीकरण तथा सिँचाइ पूर्वधार, मिथिला नगरपालिकाको नकटाझिजस्थित कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, गणेशमान चारनाथ नगरपालिकामा सञ्चालित व्यावसायिक आँप खेती तथा छिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको व्यावसायिक मत्स्यपालन फार्मको निरीक्षण गर्नुभयो ।