AgriVet Sanchar

मापदण्ड पूरा गर्ने प्रस्ताव नआएपछि हुम्लामा पशुपक्षी श्रोत केन्द्रको रु १ करोड ५५ लाख बजेट फिर्ता

हुम्ला। आर्थिक वर्ष २०८२/०८३ मा हुम्ला जिल्लामा सञ्चालन गर्ने लक्ष्य राखिएको पशुपक्षी श्रोत केन्द्र कार्यक्रम अन्तर्गत विनियोजित रु १ करोड ५५ लाख बजेट कार्यान्वयन हुन नसकी सरकारलाई फिर्ता गरिएको छ।

पशु अस्पताल तथा पशु सेवा विकास कार्यालय हुम्लाका प्रमुख पशु चिकित्सक नवीन पौडेलका अनुसार मन्त्रालयले निर्धारण गरेको सञ्चालन मापदण्डअनुसार योग्य प्रस्ताव प्राप्त नभएकाले कार्यक्रम अघि बढाउन सम्भव नभएको हो। आवश्यक प्रक्रिया पूरा गर्ने सेवाग्राहीको अभावमा विनियोजित बजेट खर्च हुन नसकी फिर्ता पठाउनुपरेको उनले जानकारी दिए।

यस कार्यक्रममार्फत हुम्लामा विशेष प्राथमिकताका साथ चौरी र च्याङ्ग्रा पालनलाई प्रवर्द्धन गर्ने योजना बनाइएको थियो। कार्यक्रम सञ्चालनका लागि कार्यालयले सार्वजनिक रूपमा प्रस्ताव आह्वान गरे पनि तोकिएका मापदण्ड पूरा गर्ने कुनै पनि प्रस्ताव दर्ता नभएको कार्यालयको भनाइ छ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार श्रोत केन्द्र सञ्चालनका लागि सेवाग्राहीसँग न्यूनतम आवश्यक पूर्वाधार अनिवार्य गरिएको थियो। त्यसमा उमेर, जात र लिङ्गका आधारमा छुट्टाछुट्टै गोठको व्यवस्था, क्वारेन्टाइन, दाना–पानीको व्यवस्थापन, चरन क्षेत्र, मलमूत्र व्यवस्थापन, जैविक सुरक्षा, नियमित उपचारलगायतका आधारभूत संरचना समेटिएका थिए।

त्यसैगरी, पशुपक्षीको अभिलेख व्यवस्थापन तथा पेडिग्री (वंशावली) रेकर्ड राख्ने प्रणाली अनिवार्य गरिएको थियो। यी सबै मापदण्ड पूरा गर्न नसक्दा कुनै पनि सेवाग्राही छनोट हुन नसकेको कार्यालयले जनाएको छ।

विनियोजित बजेटमध्ये रु ५० लाख च्याङ्ग्रा पालन प्रवर्द्धनका लागि छुट्याइएको थियो भने रु २५ लाख नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका–१ अन्तर्गत दोजम क्षेत्रमा चौरी पालन कार्यक्रम सञ्चालन गर्न व्यवस्था गरिएको थियो। बाँकी रकम जिल्लाभरका इच्छुक सेवाग्राहीले पशुपक्षी श्रोत केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्न सक्ने गरी विनियोजन गरिएको थियो।

तर आवश्यक योग्यता र पूर्वाधारसहितको प्रस्ताव प्राप्त हुन नसकेपछि कार्यक्रम कार्यान्वयन हुन नसकी सम्पूर्ण बजेट फिर्ता गर्नुपरेको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.