AgriVet Sanchar

सीमामा कडाइपछि बाँकेको पोल्ट्री क्षेत्रमा देखियो फेरि चहलपहल

नेपालगञ्ज। बाँकेको सीमावर्ती क्षेत्रमा हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रणतर्फ सरकारी निकायले निगरानी कडा बनाएपछि स्थानीय पोल्ट्री उद्योगमा सकारात्मक प्रभाव देखिन थालेको छ। लामो समयदेखि बन्द रहेका मासु पसलहरू पुनः सञ्चालनमा आउन थालेका छन् भने केही उद्योगले समेत नयाँ उत्साहका साथ आफ्नो सेवा पुनः सुरु गर्ने तयारी गरेका छन्।

यसैक्रममा, अवैध आयातका कारण सञ्चालन रोक्न बाध्य भएको नेपालगञ्जस्थित भेरी मिट सप एण्ड कोल्ड स्टोर पनि पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। करिब पाँच करोड रुपैयाँभन्दा बढीको लगानीमा डल्फिन ग्रुपले २०७९ सालमा स्थापना गरेको यो अत्याधुनिक उद्योग सीमाबाट सस्तो मूल्यमा भित्रिने अवैध बोइलर कुखुराको असरका कारण बन्द भएको थियो।

पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बन्दै गएपछि अवैध रूपमा भित्रिने मासुजन्य वस्तुको मात्रा उल्लेखनीय रूपमा घटेको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण सिर्जना गरेको छ।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले उद्योग पुनः सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। सरकारले सीमा क्षेत्रमा अवैध व्यापार नियन्त्रण गर्न देखाएको सक्रियताले स्वदेशी उद्योग, कृषक र समग्र पोल्ट्री क्षेत्रलाई सकारात्मक सन्देश दिएको उनको भनाइ छ।

उनले उद्योग पुनः सञ्चालनसँगै उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु उपलब्ध गराउने लक्ष्य रहेको बताए। आधुनिक प्रविधिमा आधारित प्रशोधन प्रणाली र प्रभावकारी ‘कोल्ड चेन’ व्यवस्थामार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

थापाका अनुसार अवैध आयात पूर्ण रूपमा अन्त्य नभए पनि अघिल्ला वर्षहरूको तुलनामा यसको प्रभाव उल्लेखनीय रूपमा घटेको छ। यसले नेपाली किसान र उद्योगीलाई आफ्ना उत्पादन बजारमा सहज रूपमा बिक्री गर्ने अवसर बढाएको उनको विश्वास छ।

भेरी मिट सप सञ्चालनमा रहेको समयमा आधुनिक प्रशोधन प्रक्रिया, स्वच्छ उत्पादन प्रणाली र गुणस्तरीय प्याकेजिङका कारण छोटो अवधिमै उपभोक्तामाझ लोकप्रिय बनेको थियो। नेपालगञ्जसँगै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लामा यसको प्रशोधित मासुको राम्रो माग रहेको कम्पनीको दाबी छ।

अवैध आयातले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेपछि उद्योग बन्द हुँदा करिब १०० जनाले प्रत्यक्ष रोजगारी गुमाएका थिए। त्यसको प्रभाव बोइलर कुखुरापालक किसान, दाना उद्योग, ढुवानी व्यवसाय तथा अन्य सहायक क्षेत्रमा समेत परेको थियो।

उद्योग पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर किसानले नियमित बजार पाउने अपेक्षा गरिएको छ। यसले स्थानीय उत्पादनलाई प्रोत्साहन दिनुका साथै रोजगारी सिर्जना र क्षेत्रीय अर्थतन्त्रलाई समेत थप चलायमान बनाउने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरी उत्पादन प्रक्रिया अझ प्रभावकारी बनाइनेछ। उपभोक्तालाई सुरक्षित, स्वस्थ र उच्च गुणस्तरको मासु उपलब्ध गराउनु नै कम्पनीको मुख्य प्राथमिकता रहने जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.