गुल्मी। गुल्मीमा बाँदर र बनेलको बढ्दो आतंकका कारण स्थानीय बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ। समस्या गम्भीर बन्दै जाँदा बस्ती नै स्थानान्तरण गर्नुपर्ने माग उठेपछि जिल्लाका जनप्रतिनिधिहरू सक्रिय भएका छन्।
हालै सम्पन्न भर्चुअल बैठकमा संघीय सांसद, जिल्ला समन्वय समिति तथा विभिन्न स्थानीय तहका प्रमुखहरूले यस विषयमा विस्तृत छलफल गरेका छन्। बैठकमा सहभागी प्रतिनिधिहरूले वन्यजन्तुको आक्रमणका कारण कृषिमा ठूलो क्षति भइरहेको र ग्रामीण जनजीवन प्रभावित भएको विषयमा गहिरो चिन्ता व्यक्त गरे।
बैठकपछि सार्वजनिक गरिएको निष्कर्षमा बाँदर र बनेलको अत्यधिक उपद्रवले खेतीपाती नष्ट हुनुका साथै बस्ती सार्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। दीर्घकालीन समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रम तत्काल ल्याउन संघीय सरकारसँग आग्रह गरिएको जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए।
यसैबीच, छलफलमा जिल्लाका अन्य विकाससम्बन्धी विषयहरू पनि उठाइएका छन्। विशेषगरी स्थानीय तहमा निर्माण भएका १५ शैयाका अस्पतालहरू सञ्चालनमा ल्याउन विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको अभाव रहेको औंल्याउँदै संघीय सरकारको विशेष पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
समग्रमा, बैठकले गुल्मीका प्रमुख समस्याहरू समाधान गर्न सबै तहबीच समन्वय र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएको छ।