AgriVet Sanchar

भारतको अवरोधविरुद्ध इलामका चिया किसान र उद्योगी सडकमा, ५३ उद्योग अनिश्चितकालका लागि बन्द

इलामका चिया किसान र उद्योगीहरूले नेपाली चियाको भारत निर्यातमा भइरहेको अवरोधप्रति सरकार मौन बसेको भन्दै आन्दोलनलाई तीव्र बनाएका छन्। सूर्योदय नगरपालिकाको फिक्कलस्थित मेची राजमार्गमा उनीहरूले विरोध र्‍याली निकाल्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न दबाब दिएका हुन्।

भारतीय पक्षले गुणस्तर परीक्षण र विभिन्न प्राविधिक मापदण्डको नाममा नेपाली तयारी चियाको आयातमा अवरोध सिर्जना गरेको भन्दै सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनअन्तर्गतका ५३ चिया उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गरेका छन्। उद्योग बन्द भएपछि हरियो चियापत्ती बिक्री गर्न नपाएका किसान पनि आन्दोलनमा सहभागी भएका छन्।

उद्योग बन्दको प्रभाव इलाममा मात्र सीमित नरही झापा लगायतका जिल्लाका चिया व्यवसायीहरूले पनि समर्थन जनाएका छन्। उद्योगीहरूको भनाइमा सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ प्रभावकारी पहल गरेको छैन।

एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार नेपाली तयारी चियाको सबैभन्दा ठूलो बजार भारत भए पनि पछिल्लो समय भारतीय निकायले नयाँ–नयाँ प्राविधिक प्रक्रिया लागू गरेर निर्यातलाई जटिल बनाइरहेको छ। उनका अनुसार चिया बिक्री ठप्प हुँदा उद्योगीले आर्थिक क्षति व्यहोर्नुपरेको मात्रै होइन, किसानबाट खरिद गरिएको हरियो पत्तीको मूल्य भुक्तानी गर्नसमेत कठिन अवस्था सिर्जना भएको छ।

चियाको हरियो पत्ती निश्चित अन्तरालमा टिप्नुपर्ने भएकाले उद्योग बन्द हुँदा किसानको उत्पादन सिधै प्रभावित भएको छ। केही दिनमात्र ढिलाइ हुँदा पनि पत्तीको गुणस्तरमा असर पर्ने भएकाले अहिले धेरै किसानको उत्पादन खेतमै खेर जाने अवस्था देखिएको छ।

सूर्योदय क्षेत्रमा करिब तीन हजार किसान दैनिक रूपमा हरियो चियापत्ती उद्योगमा बिक्री गर्दै आएका छन्। उद्योग सञ्चालन रोकिएसँगै किसान, श्रमिक, ढुवानी व्यवसायी, व्यापारी तथा यससँग जोडिएका हजारौं परिवारको आयआर्जनमा प्रत्यक्ष असर परेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूका अनुसार भारतको कोलकाता पुगेका तीन लाख किलोग्रामभन्दा बढी नेपाली तयारी चिया गुणस्तर परीक्षणको प्रक्रियामा लामो समयदेखि रोकिएको छ। यता नेपालका उद्योगहरूमा थप सात लाख किलोग्रामभन्दा बढी प्रशोधित चिया बिक्री हुन नसकी गोदाममै थन्किएको छ। भण्डारण क्षमता भरिँदै जाँदा नयाँ उत्पादन राख्ने ठाउँसमेत अभाव हुन थालेको उनीहरूको गुनासो छ।

उद्योगी डिल्ली श्रेष्ठका अनुसार किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरिसकिएको भए पनि बजारमा बिक्री नहुँदा उद्योगहरू थप संकटमा परेका छन्। विशेषगरी पहिलो फ्लसको उच्च गुणस्तरको चिया बिक्री हुने यही समयमा निर्यात अवरुद्ध हुँदा उद्योगीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उनले बताए।

भारतको चिया बोर्डले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेपछि प्रत्येक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन तीन साताभन्दा बढी समय लाग्ने, रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाइने र परीक्षणमा असफल भए पुनः शुल्क तिरेर प्रक्रिया दोहोर्‍याउनुपर्ने प्रावधानले निर्यात झन् जटिल बनेको छ।

यसअघि उद्योगीहरूले प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहलको माग गरेका थिए। त्यसपछि भारतीय चिया बोर्डले नेपाली चिया भारतीय बजारमा बिक्री गर्न सकिने संकेतसहित अर्को सूचना जारी गरे पनि केही समयमै उक्त सूचनालाई आधिकारिक मान्न नसकिने भन्दै पुरानै कडाइ कायम राखिएको उद्योगीहरूको आरोप छ।

उद्योगी र किसानहरूले सरकारले तत्काल भारतसँग उच्चस्तरीय वार्ता गरी नेपाली चियाको सहज निर्यात सुनिश्चित गर्नुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.