AgriVet Sanchar

मल अभावको संकेत: खुस्बु ओलीद्वारा आपूर्ति सुनिश्चित गर्न आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कृषि क्षेत्रमा देखिन सक्ने मल अभावलाई ध्यानमा राख्दै सरकारले समयमै आवश्यक तयारी गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रोपाईंको सिजन सुरु हुनुअघि नै मल तथा अन्य कृषि सामग्रीको सुनिश्चित आपूर्ति गर्न सरकारलाई आग्रह गरिन्। पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि र आपूर्ति अस्थिर हुन सक्ने संकेत देखिएको उनको भनाइ थियो।

ओलीले सरकारले वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्ति प्रणालीलाई विविधिकरण गर्ने तथा दीर्घकालीन रणनीति निर्माण गर्ने विषयमा स्पष्ट योजना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्। साथै, आवश्यक मलको भण्डारण बढाउने कार्य तत्काल सुरु गर्न पनि उनले माग राखिन्।

किसानलाई सम्भावित संकटबाट जोगाउन आकस्मिक राहत योजना तयार गरिएको छ वा छैन भन्नेबारे पनि उनले सरकारसँग जानकारी मागिन्। देशमा हाल कति मात्रामा मल मौज्दात छ, त्यो कति समयसम्मका लागि पर्याप्त हुन्छ र अभाव भएमा किसानका लागि के कस्ता विकल्पहरू तयार गरिएको छन् भन्ने विषयमा स्पष्टता दिनुपर्ने उनको आग्रह थियो।

उनले समयमै तयारी नगरे कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिँदै सरकारलाई आवश्यक कदम चाल्न सचेत गराएकी छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.