AgriVet Sanchar

कर्णालीका रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न इजरायली राजदूतसँग छलफल

काठमाडौं, जेठ ३ — कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बाली तथा जडिबुटीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने विषयमा कर्णालीका युवाहरूले नेपालस्थित इजरायली राजदूतसँग भेटवार्ता गरेका छन्।

युवा अभियन्ता आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भेट गर्दै कर्णालीको कृषि, रैथाने उत्पादन र जडिबुटीको सम्भावित अन्तर्राष्ट्रिय बजारबारे छलफल गरेको हो।

भेटका क्रममा कर्णाली प्रदेशमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो र रनालोजस्ता रैथाने बालीहरूको विदेशी बजारमा राम्रो सम्भावना रहेको विषय उठाइएको थियो। टोलीले ती उत्पादन इजरायलसम्म निर्यात गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आवश्यक सहजीकरणमा दूतावासको सहयोग अपेक्षा गरेको जनाएको छ।

यस्तै, कर्णाली क्षेत्रमा पाइने यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउजस्ता बहुमूल्य जडिबुटी तथा प्राकृतिक उत्पादनहरूको अन्तर्राष्ट्रिय माग बढिरहेको भन्दै ती वस्तुको संरक्षण, प्रशोधन र निर्यात प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको धारणा राखिएको थियो।

राजदूत बासले कर्णालीको कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजारीकरणका सम्भावनाबारे चासो व्यक्त गरेको बताइएको छ। साथै, स्थानीय उत्पादनलाई विश्व बजारसँग जोड्न गुणस्तर, प्याकेजिङ र दीगो उत्पादन प्रणालीमा ध्यान दिनुपर्नेमा समेत छलफल भएको स्रोतले जनाएको छ।

कर्णालीका युवाहरूले स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सके ग्रामीण अर्थतन्त्र सुदृढ हुनुका साथै रोजगारी र उद्यमशीलताको अवसरसमेत विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.