अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे सामुदायिक वन उपभोक्ता समूह ले वन संरक्षणबाट भएको आम्दानीलाई गाउँको कृषि विकाससँग जोड्दै किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको छ। समूहले काठ र दाउरा बिक्रीबाट संकलित रकम प्रयोग गरी पहिलो चरणमा १० वटा हाते ट्याक्टर वितरण गरेको हो।
वन उपभोक्ता समूहका अध्यक्ष रेशमराज बञ्जाडेका अनुसार प्रत्येक ट्याक्टरको मूल्य ६२ हजार रुपैयाँ रहेको छ। यसमध्ये आधा अर्थात् ३१ हजार रुपैयाँ वन समूहले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी रकम सम्बन्धित किसानले आफैं लगानी गरेका छन्।
वर्षौंदेखि स्थानीयवासीले सामूहिक रूपमा वन संरक्षण गर्दै आएका थिए। संरक्षणका कारण हुर्किएका रूखबाट प्राप्त काठ तथा दाउरा बिक्री गरी संकलन भएको आम्दानीलाई यसपटक कृषकको आवश्यकता पूरा गर्न उपयोग गरिएको अध्यक्ष बञ्जाडेले जानकारी दिए।
उनका अनुसार गाउँमा युवा जनशक्ति घट्दै जाँदा हलो जोत्न गोरु पाल्ने किसानको संख्या पनि कम भएको छ। त्यसका कारण खेतीपातीको समयमा सबै किसानले समयमै खेत तयार गर्न समस्या भोग्दै आएका थिए। यही अवस्थालाई ध्यानमा राख्दै हाते ट्याक्टर खरिद गरी किसानलाई उपलब्ध गराइएको हो।
हाल धान रोपाइँको मुख्य सिजन चलिरहेकाले वितरण गरिएका ट्याक्टरहरू खेतमै प्रयोगमा आइसकेका छन्। परम्परागत रूपमा गोरुले दिनभर लगाएर गर्ने काम हाते ट्याक्टरले छोटो समयमा सम्पन्न गर्ने भएकाले खेत जोत्न, हिल्याउन र सम्याउन सहज भएको किसानहरूले बताएका छन्। यसले रोपाइँको काम पनि छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ।
वन उपभोक्ता समूहले वनबाट हुने आम्दानीलाई आयआर्जनका कार्यक्रमसँगै स्थानीय विकासका विभिन्न योजनामा पनि लगानी गर्दै आएको छ। यसपटक हाते ट्याक्टर पाएपछि किसानहरू उत्साहित भएका छन् र आधुनिक कृषि उपकरणले खेतीलाई थप सहज बनाउने विश्वास व्यक्त गरेका छन्.