AgriVet Sanchar

महोत्तरीका उखु किसानले पाए करिब रु १.७७ अर्ब भुक्तानी :अनुदान रकम पनि निकासाको तयारीमा

काठमाडौं — महोत्तरीका दुई प्रमुख चिनी उद्योगमा उखु बिक्री गरेका किसानले यस वर्षको अधिकांश भुक्तानी प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार हालसम्म किसानको खातामा करिब रु १ अर्ब ७६ करोड ५२ लाख रकम जम्मा भइसकेको छ।

गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज तथा गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिज मा आर्थिक वर्ष २०८२/८३ को उखु क्रसिङ याममा किसानले कुल २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आपूर्ति गरेका थिए।

कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार उद्योगहरूले किसानलाई तिर्नुपर्ने कुल रकम रु १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रहेकोमा हालसम्म रु १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी गरिसकेका छन्। बाँकी रकम पनि छिट्टै किसानको खातामा पुग्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

यससँगै सरकारले उपलब्ध गराउने उखु किसान प्रोत्साहन अनुदान वितरणको प्रक्रिया पनि अगाडि बढाइएको छ। जिल्ला भुक्तानी समितिले रु २० करोड ७ लाख ५९ हजार ११७ बराबरको अनुदान निकासाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरिसकेको जनाएको छ।

उखु किसानलाई समयमै भुक्तानी सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला भुक्तानी समिति गठन गरिएको छ। समितिले मूल्य तथा सरकारी अनुदान दुवै रकम चालु असार मसान्तभित्र वितरण सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया तीव्र बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.