AgriVet Sanchar

तनहुँमा बर्डफ्लु जोखिम :उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ –तनहुँ जिल्लामा बर्डफ्लु संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले सबै सरोकारवालालाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।

कार्यालयका प्रमुख रविनसन अधिकारीका अनुसार विभिन्न क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आवतजावत भइरहेकाले संक्रमण जिल्लाभित्र भित्रिने जोखिम कायम छ। यस अवस्थालाई मध्यनजर गर्दै किसान, कुखुरापालक, व्यवसायी तथा उपभोक्ताले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने बताइएको छ।

कार्यालयले विशेषगरी अण्डा बोक्न प्रयोग गरिएका पुराना क्रेट पुनःप्रयोग नगर्न, पन्छी ढुवानी गर्ने सवारीसाधनलाई नियमित रूपमा निसङ्क्रमण गर्न तथा घरपालुवा पन्छीलाई कागलगायत जङ्गली चरासँग सम्पर्कमा आउन नदिन आग्रह गरेको छ। साथै, दाना तथा अन्य पन्छीजन्य सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र साथमा राख्नुपर्ने पनि उल्लेख गरिएको छ।

यसैगरी, अन्य संक्रामक रोगविरुद्ध समयमै खोप लगाउने, कुनै फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई सुरक्षित रूपमा गहिरो खाडलमा व्यवस्थापन गर्ने र प्रभावित क्षेत्रलाई निसङ्क्रमण गरी प्राविधिकको निर्देशनअनुसार नियन्त्रणका सबै प्रक्रिया अपनाउन कार्यालयले सुझाव दिएको छ।

सम्भावित संक्रमणलाई समयमै रोकथाम गर्न सबै पक्षको सतर्कता र सहकार्य आवश्यक रहेको कार्यालयको भनाइ छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.