AgriVet Sanchar

‘अनुदानभन्दा मल, बीउ र बजार चाहिन्छ’ : किसानका आधारभूत समस्या समाधान गर्न पोखरेलको सरकारलाई आग्रह

काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानका वास्तविक समस्या समाधान नगरी ठूलो लगानीकर्तामुखी अनुदान कार्यक्रम ल्याउनु पर्याप्त नहुने बताएका छन्। धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले किसानलाई करोडौं रुपैयाँको अनुदानभन्दा गुणस्तरीय मल, उन्नत बीउ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन्।

पोखरेलले सरकारले दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने कृषि व्यवसायीका लागि आकर्षक अनुदान घोषणा गर्नु सकारात्मक भए पनि त्यसले अधिकांश नेपाली किसानलाई प्रत्यक्ष लाभ नपुग्ने टिप्पणी गरेका छन्। उनका अनुसार मुलुकका अधिकांश किसान साना तथा मझौला भएकाले उनीहरूको पहुँचभन्दा बाहिरको योजनाले कृषि क्षेत्रका आधारभूत चुनौती समाधान गर्न नसक्ने बताए।

उनले सरकारलाई किसानको वास्तविक आवश्यकतामा केन्द्रित हुन आग्रह गर्दै उत्पादनका लागि समयमै मल र बीउ उपलब्ध गराउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यस वर्ष अनियमित वर्षा र खडेरीको जोखिम बढ्दै गएको उल्लेख गर्दै पोखरेलले किसानलाई सम्भावित ठूलो क्षतिबाट जोगाउन सरकारले कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्। प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला कृषि बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन नगरे किसान थप समस्यामा पर्ने उनको भनाइ छ।

शुभकामना सन्देशमार्फत उनले कृषि क्षेत्रको महत्व स्मरण गराउँदै विश्वले जति नै आर्थिक र प्राविधिक प्रगति गरे पनि मानव जीवनको आधार खाद्य उत्पादन नै रहने बताएका छन्। तर, राज्यले कृषि र किसानलाई अर्थतन्त्रको मेरुदण्ड मान्ने दाबी गरे पनि व्यवहारमा आवश्यक प्राथमिकता दिन नसकेको उनको आरोप छ।

सरकारले नीति तथा कार्यक्रममा मध्यम वर्गको संरक्षणको कुरा गरे पनि उत्पादनमा निरन्तर खटिने साना किसान र श्रमजीवी वर्गलाई अझ बढी राज्यको साथ र संरक्षण आवश्यक रहेको पोखरेलले उल्लेख गरेका छन्। कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन किसानमैत्री नीति, प्रभावकारी बजार व्यवस्था र उत्पादनमुखी कार्यक्रम आवश्यक रहेको उनको निष्कर्ष छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.