AgriVet Sanchar

छुर्पी बेचेर वार्षिक १३ लाख कमाउँछन् टार्जन

फुङलिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको पाङ्दुवामा रहेको चौँरीगोठमा अहिले चौँरीको दूधभन्दा छुर्पीको चर्चा बढी छ। यही छुर्पी बिक्री गरेर स्थानीय चौँरीपालक टार्जन खुदाङ लिम्बूले वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

३० वर्षीय लिम्बूका लागि चौँरीपालन पुर्ख्यौली परम्परा मात्र होइन, परिवारको मुख्य जीविकोपार्जनको आधारसमेत हो। नौ वर्षदेखि व्यावसायिक रूपमा चौँरीपालन गर्दै आएका उहाँसँग अहिले ३० वटा चौँरी छन्।

लिम्बू वर्षको करिब छ महिना पाङ्दुवाको गोठमा बिताउँछन् भने बाँकी समय सिदिङ्वा–१ कै सुरुमखिममा रहने गर्छन्। जेठदेखि भदौसम्म भने उनको दैनिकी चौँरीको दूध दुहुने, प्रशोधन गर्ने र छुर्पी बनाउने काममै बित्छ।

गोठ वरिपरि बाँस तथा काठका डन्डीमा झुन्ड्याइएका पहेँलै छुर्पीका लहरले उत्पादनको झल्को दिन्छन्। चौँरीको दूधबाट तयार हुने छुर्पी नै उनको आम्दानीको प्रमुख स्रोत हो। उत्पादित छुर्पी प्रतिकिलो १ हजार १ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको लिम्बू बताउँछन्।

पाङ्दुवामा उत्पादन भएको छुर्पी ताप्लेजुङका स्थानीय बजारसँगै इलाम, बिर्तामोड र भारतको सिक्किमसम्म पुग्ने गरेको छ। बजार सधैँ सहज भने छैन। चीनतर्फको नाका बन्द भएपछि छुर्पीको बजार व्यवस्थापनमा केही समस्या आएको लिम्बूको भनाइ छ।

“चौँरीपालनबाट सन्तुष्ट छु। यही व्यवसायले परिवारको खर्च धान्न सहयोग गरेको छ,” उहाँले भन्नुभयो।

सुरुमखिममा जन्मिएका लिम्बू बाल्यकालदेखि नै चौँरीको गोठमा हुर्किए। उनका बुवाले गर्दै आएको चौँरीपालनको जिम्मेवारी सम्हाल्दै उनले यसलाई व्यावसायिक रूप दिएका हुन्।

“सानैदेखि चौँरीको गोठमा हुर्किएँ। बुवापछि यही पेसा समाल्दै आएको हुँ,” उहाँले भन्नुभयो।

पाङ्दुवा क्षेत्रमा कालीखोला, सुरुमखिम र मेहेलेलगायतका स्थानका गरी १६ वटा चौँरीका गोठ छन्। यहाँका किसानले चौँरीको दूधबाट घिउ, छुर्पीलगायत विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएका छन्।

हिमाली क्षेत्रमा पुस्तौँदेखि चलिआएको चौँरीपालन स्थानीय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण पेसा भए पनि पछिल्लो समय यसमा संलग्न किसानको सङ्ख्या घट्दै गएको लिम्बू बताउँछन्।

नयाँ पुस्ता चौँरीपालनप्रति आकर्षित नहुँदा पुर्ख्यौली पेसा नै संकटमा पर्न थालेको उनको अनुभव छ। उनका एक छोरा र एक छोरी छन्। दुवै बिर्तामोडमा अध्ययनरत छन्। भविष्यमा छोराछोरीले चौँरीपालनलाई निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने निश्चित नभए पनि आफूले भने यो पेसा नछोड्ने लिम्बू बताउँछन्।

चौँरीपालनबाट राम्रो आम्दानी भए पनि जोखिम उत्तिकै रहेको लिम्बूको अनुभव छ। पाङ्दुवाका चौँरी किसानका लागि वन कुकुर ठूलो चुनौती बनेको छ।

गोठालाहरू मिलेर वन कुकुर लखेट्ने गरे पनि वर्षमा २० देखि २५ वटासम्म चौँरी कुकुरको आक्रमणबाट मर्ने गरेको उहाँ बताउनुहुन्छ। चौँरीका लागि आवश्यक आहार, चरन क्षेत्रको व्यवस्थापन र लामो समय गोठमा बसेर चौँरी चराउनुपर्ने बाध्यताले पनि किसानलाई समस्या पार्ने गरेको छ।

उत्पादन बढाउन आवश्यक पूर्वाधार र प्रविधिको अभावसमेत रहेको उहाँको भनाइ छ। सरकारले यसअघि छुर्पी उत्पादनका लागि आवश्यक फर्निचर उपलब्ध गराए पनि पछिल्लो तीन वर्षयता त्यस्तो सहयोग नपाएको लिम्बू बताउँछन्।

उनका अनुसार आधुनिक प्रविधि, बजारको सुनिश्चितता र सरकारी सहयोग बढाउन सके चौँरीपालन तथा छुर्पी उत्पादनलाई थप व्यावसायिक बनाउन सकिन्छ।12`

पछिल्ला तीन वर्षयता पाङ्दुवा क्षेत्रमा पर्यटकको आवागमनसमेत बढेको छ। ताप्लेजुङका विभिन्न स्थानसँगै दमक, इटहरी, धरान र पाँचथरबाट आउने पर्यटक चौँरीका गोठ हुँदै तिम्बुङपोखरी जाने गरेका छन्।

पर्यटकका लागि चौँरीगोठ र त्यहाँ भइरहेको छुर्पी उत्पादनसमेत आकर्षण बन्न थालेको छ। हिमाली जीवनशैली, चौँरीपालन र स्थानीय उत्पादन नजिकबाट अवलोकन गर्न पाउने भएकाले पाङ्दुवाका गोठ पर्यटनसँग जोडिने सम्भावना पनि बढेको छ।

परम्परागत चौँरीपालनलाई आधुनिक प्रविधि, बजार र पर्यटनसँग जोड्न सके यसले स्थानीय किसानको आम्दानी बढाउनुका साथै हिमाली क्षेत्रको पुरानो पेसालाई नयाँ पुस्तासम्म निरन्तरता दिन सहयोग पुग्ने देखिन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.