AgriVet Sanchar

दूधको मूल्य बढाउन चितवनका किसान काठमाडौंमा

काठमाडौँ — दूध उत्पादनको लागत बढ्दै गए पनि खरिद मूल्य नबढेको भन्दै चितवनका किसान मूल्यवृद्धिको माग लिएर काठमाडौं आएका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले कच्चा दूधको मूल्य तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गर्दै पशु आहारको मूल्य नियन्त्रण र किसानलाई समयमै भुक्तानीको व्यवस्था गर्नसमेत आग्रह गरेको छ।

संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीसहितको टोलीले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

सरकारले २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दूधको न्यूनतम खरिद मूल्य प्रतिलिटर ६५ रुपैयाँ तोकेको थियो। त्यसयता दूधको मूल्य यथावत् रहे पनि दाना, चोकर, चिनी, पिना, औषधिलगायत पशुपालनमा आवश्यक सामग्रीको मूल्य बढेको संघले जनाएको छ।

उत्पादन लागत बढ्दै जाँदा किसानलाई दुग्ध व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको भन्दै संघले पशु आहारमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरेको छ।

त्यस्तै, किसानले उत्पादन गर्ने दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुट दिन र दूध बिक्री गरेबापत प्रत्येक १५ दिनमा भुक्तानी पाउने व्यवस्था गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ। दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी डेरी उद्योगबाट दूधको भुक्तानीमा ढिलाइ भइरहेको संघको भनाइ छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले मागका विषयमा अध्ययन गर्ने बताइन्। दुग्धजन्य पदार्थमा भ्याट छुटको विषय भने अर्थ मन्त्रालयका कारण अघि बढ्न नसकेको उनले बताइन्।

संघका अनुसार चितवनमा दैनिक करिब ३ लाख ७५ हजार लिटर दूध उत्पादन हुन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.